
काठमाडौं, साउन ३१ । नेपाल राष्ट्र बैंकले प्रदान गरेको सहुलियत कर्जाअन्तर्गत् शिक्षित युवा स्वरोजगार कर्जा हालसम्म जम्मा २४ जनालेमात्रै लिएका छन् ।
राष्ट्र बैंकले व्यवस्था गरेको सहुलियत कर्जा ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिअनुसार आर्थिक वर्ष २०७६ असार मसान्तसम्ममा जम्मा २४ जनालेमात्रै शिक्षित युवा स्वरोजगार कर्जा प्राप्त गरेका हुन् ।
राष्ट्र बैंकको तथ्यांकअनुसार यस वर्ष सहुलिय कर्जाअन्तर्गत् सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा १६ हजार ६५८ जनाले लिएका छन् । यसपछि महिला उद्यमशील कर्जा ७८८ जनाले लिएका छन् ।
भूकम्पपीडितहरुको निजी आवास निर्माण कर्जा ८७ जनाले लिएका छन् भने विदेशबाट फर्केका युवा परियोजना कर्जा लिने जम्मा ४९ जना रहेका छन् ।
यस्तै, दलित समुदाय व्यवसाय विकास कर्जा ६५ जनाले प्राप्त गरेका छन् भने उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जा ५९ जनाले लिएको राष्ट्र बैंकले जनाएको छ ।
हालसम्म जम्मा १८ हजार २९५ जनाले जम्मा ३७ अर्ब ८४ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा लिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्