१२ बैशाख २०८२, शुक्रबार | Sat Apr 26 2025


शिक्षाको व्यवहारिक योजना बनाउन प्रधानमन्त्री ओलीको निर्देशन


0
Shares

काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्व विद्यालयका कुलपति केपी शर्मा ओलीले शिक्षाको व्यवहारिक योजना बनाउन निर्देशन दिएका छन् ।

त्रिभुवन विश्व विद्यालयको सिनेट बैठकको शनिबार कीर्तिपुरमा उद्घाटन गर्दै उनले मुलुकको समृद्धिको लक्ष्यमा पुग्न गुणस्तरीय शिक्षा आवश्यक भएकाले योजना बनाएर अघि बढ्न निर्देशन दिए ।

त्रिभुवन विश्व विद्यालय अध्यययनको केन्द्र मात्र नभइ अनुसन्धानको केन्द्र बन्नु पर्ने उनको जोड थियो ।

प्रधानमन्त्री ओलीले शिक्षा क्षेत्रको विकास गर्न यसमा हुँदै आएको राजनीतिको अन्त्य गरिने पनि बताए ।

गुणस्तरीय शिक्षा नहुँदा धेरै युवाहरु रोजगारीको लागि खाडी मुलुक जानु पर्ने बाध्यता रहेको भन्दै प्रधानमन्त्री ओलीले तल्लो वर्गको जीवनस्तर सुधार गर्न शिक्षाविद्हरुले ध्यान दिनुपर्ने बताए ।

शिक्षामन्त्री तथा त्रिभुवन विश्व विद्यालयका सह–कुलपति गिरिराजमणि पोखरेलले विश्व विद्यालयलाई संघीयतामा लैजाने समस्या भएकाले नयाँ ढंगले अगाडि बढ्नु पर्ने बताए ।

शिक्षा क्षेत्रको विकासको लागि सरकारले भर्ना अभियान चलाएको उनको भनाइ थियो ।

अन्य वक्ताहरुले भने त्रिभुवन विश्व विद्यालयभित्र हुने राजनीतिकरणको अन्त्य नभएसम्म शिक्षा क्षेत्रमा सुधार नहुने भन्दै राजनीति अन्त्य गर्न सुझाव दिएका थिए ।