१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


प्रतिनिधिसभा विघटनबारे कांग्रेसमा दुई धार


0
Shares

काठमाडौं । संसद विघटनलाई लिएर सडक संघर्ष गर्ने कि मध्यावधि निर्वाचनमा जाने भन्ने विषयमा कांग्रेस दुई धारमा विभाजित भएको छ । मंगलबारबाट शुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरू दुई धारमा बाँडिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सडक संघर्ष गर्नुपर्ने आवाज उठाएको छ भने सभापति शेरबहादुर देउवा पक्षले भने आन्दोलनको औचित्य नभएको भन्दै मध्यावधि निर्वाचन स्वीकार गरेर अघि बढ्नुपर्ने धारणा राखेको छ ।

बैठकमा बोल्दै वरिष्ठ नेता पौडेलले सत्तारुढ पार्टीको घर–झगडाको कोपभाजनमा लोकतन्त्र परेको भन्दै सडक आन्दोलनबाट संसद पुनः स्थापना गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले अबको आन्दोलनको नेतृत्व कांग्रेस एक्लैले गर्नुपर्ने र मिल्न आए अन्य पार्टीलाई सामावेश गरेर अघि बढ्नुपर्ने धारणा बैठकमा राखेको एक केन्द्रीय सदस्यले जानकारी दिए । पौडेलको धारणालाई स्वागत गर्दै नेता महेश आचार्यले संवैधानिक परिषदले गरेको नियुक्तिहरू खारेज गराउनुपर्ने धारणा राख्नु भएको थियो ।

बैठकमा सभापति देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले भने संसद पुनःस्थापनाको आन्दोलनले कांग्रेसको लागि चुनौति लिएर आउने धारणा राख्नुभयो । उहाँले संसद पुनः स्थापना भए नेकपा विभाजन हुने र कांग्रेसले प्रमुख प्रतिपक्षी दलको हैसियत गुमाउने भएकाले सडक आन्दोलनबाट संसद पुर्नस्थापनामा गराउनु भन्दा मध्यावधि निर्वाचनमै जानु पर्ने धारणा राख्नुभयो ।

पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले कोरोनाका कारण गाउँगाउँमा मानिसहरू सेतो कात्रो ओढेर बसेको बेला रातो झण्डा फहराएर भोट माग्ने आकांक्षा प्रधानमन्त्री केपी ओलीलाई पलाउनु दुःखद भएको टिप्पणी गर्नुभयो ।

बैठकको शुरु गर्दै सभापति देउवाले सोमबार तीन दलबीच भएको छलफलको विषयमा जानकारी गराउनुभएको थियो । प्रवक्ता शर्माका अनुसार राजनीतिमा आवेग बढेका बेला कांग्रेसको जारी बैठकले शान्त ढंगले विवेक पुर्‍याएर छलफल र निचोड निकाल्ने छ ।

मंगलबार शुरु भएको बैठकमा सदस्यहरूले बोल्ने क्रम जारी छ । बैठक भोलि दिउँसो १ बजे पुनः बस्ने छ ।