Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


युरोपमा गर्मीका कारण १३ सय बढीकाे निधन

तापक्रम विश्वको औसत भन्दा करिब दोब्बरका दरले बढ्दै

26
Shares

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले युरोपका विभिन्न देशहरुमा अत्यधिक गर्मी (हीटवेभ) का कारण एक हप्ताको अवधिमा १ हजार ३ सय भन्दा बढीको ज्यान गएको जनाएको छ ।

डब्लुएचओले युरोपभर तापक्रमले नयाँ–नयाँ कीर्तिमान कायम गरिरहँदा स्वास्थ्य संकट समेत गहिरिँदै गएको बताएकाे हाे । डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससका अनुसार युरोप पृथ्वीको सबैभन्दा तीव्र गतिमा तातिरहेको महादेश हो । त्यहाँ तापक्रम विश्वको औसत भन्दा करिब दोब्बरका दरले बढिरहेको छ । बीबीसीले आइतबार मात्रै जर्मनीमा कोस्चेनमा ४१ दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जनाएकाे छ । जुन त्यहाँको नयाँ कीर्तिमान हो ।

त्यसैगरी पोल्याण्डले पनि ४० दशमलव ५ डिग्री सेल्सियस अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरेको छ ।चेक गणतन्त्रमा भने ४१ दशमलव १ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हाे । फ्रान्सको स्वास्थ्य मन्त्रालयले बुधबार यता मात्रै करिब १ हजारको ज्यान गएको जनाएकाे छ । जसमध्ये अधिकांश ६५ वर्ष भन्दा माथिका नागरिक रहेका हुन् ।

फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले गर्मीबाट राहत खोज्ने क्रममा नदी, ताल र पोखरीजस्ता असुरक्षित जलाशयमा पौडी खेल्ने क्रममा डुबेर करिब ७४ जनाको ज्यान गएको बताउनुभयाे । चरम गर्मीका कारण विभिन्न युरोपेली देशहरूले विशेष सावधानी अपनाएका हुन् । विशेषज्ञहरूले यस पटकको गर्मीको मुख्य कारण ‘हीट डोम’ नामक मौसमी प्रणाली भएकाे बताएका छन्।

यस प्रणालीमा माथिबाट तल झर्ने तातो हावाले जमिन नजिक थप ताप सिर्जना गर्ने र बादल बन्न दिँदैन र घामको ताप अझ तीव्र बनाउँछ । डब्लुएचओले जलवायु परिवर्तनका कारण पहिले एक पुस्तामा एकपटक देखिने यस्ता चरम गर्मीका घटना अहिले लगभग प्रत्येक वर्ष दोहोरिन थालेको चेतावनी दिएको छ ।