प्लास्टिकको छानो, परालको ओछ्यान, तर ‘जनता आवास’ पाउन प्रमाण पुगेन « Image Khabar


प्लास्टिकको छानो, परालको ओछ्यान, तर ‘जनता आवास’ पाउन प्रमाण पुगेन


Imagekhabar
५ पुष २०७७, आईतवार ०६:३२

काठमाडौं । चिसो बढेसँगै महोत्तरीको सम्सी गाउँपालिका– ५ पोखरभिन्डाका मुसहर परिवार पक्की घरमा सर्ने हतारोमा छन् ।

उनीहरू केही सातादेखि धमाधम नयाँ घर बनाइरहेका छन् । तर, पोखरभिन्डाकै सौखीलाल मुसहरले भने यो हिउँद पनि खरको झुपडीमै बिताउनुपर्ने भएको छ । 

जनता आवास कार्यक्रमअन्तर्गत यो बस्तीमा धमाधम नयाँ घर बनिरहेका भए पनि सौखीलालको परिवार भने हेरेर बसिरहेको छ ।

‘फाराम भर्ने वेला कामका लागि भारत गएको थिएँ, परिवारले भर्न छुटाएछन्,’ सौखीलालले दुःखेसो गरे, ‘कागजात नपुगेको भन्दै हाम्रो नाम राखेनन् ।’

उनको परिवारसँग जग्गाको लालपुर्जा थिएन । उनी घरमा नहुँदा परिवारजनले तत्कालै वडा कार्यालयबाट सिफारिस बनाउन सकेनन् ।

जसले गर्दा अरूको घर बनिरहेको भए पनि उनको भने बन्ने सूचीमा पनि छैन । 

यस्तै समस्यामा छिन् सौखीलालकी छिमेकी मुनेश्वरी सदा । मुनेश्वरीको परिवार झुपडीमा बसिरहेको छ ।

परालको ओछ्यानमाथि फाटेको कम्बलले उनको परिवार चिसो छल्ने प्रयासमा छ ।

‘कागजात नपुगेको भन्दै हाम्रो नाम पनि सूचीमा परेन,’ मुनेश्वरीले दुःखेसो गरिन् । उनलाई त पक्की घर बनाउनका लागि के कागजात पुगेन भन्ने पनि थाहा छैन । 

यो बस्तीमा ६७ परिवार मुसहर छन् । तीमध्ये ४५ परिवारको मात्रै जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माण हुने सूची बनेको छ ।

अन्य परिवारको आवश्यक कागजात नपुगेकाले सूचीमा नपरेको जनता आवास कार्यक्रमले जनाएको छ ।

सहरी विकास तथा भवन कार्यालयका प्रमुख विनोदकुमार यादवले एक महिनाभित्रै सबै प्रक्रिया पूरा गरी उनीहरूको घर बनाउन सुरु गरिने बताए ।

‘सौखीलाल र मुनेश्वरीजस्ता घरको अति आवश्यक भएकालाई छुटफुट वा अन्य कुन शीर्षकबाट मिलाउन सकिन्छ, घर बनाउँछौँ,’ यादवले भने । 

जनता आवास कार्यक्रमअन्तर्गत महोत्तरीमा प्रदेश २ सरकारले एक हजार ६ सय ६२ वटा घर निर्माण गर्ने सम्झौता गरेको छ ।

अहिलेसम्म चार सय ८८ घर मात्रै निर्माण सम्पन्न भएका छन् । अझै एक हजार एक सय ७४ घर निर्माणकै चरणमा छन् । 

त्यस्तै, यसअघि संघीय सरकारमार्फत सम्झौता भएका पाँच सय २२ घरका विषयमा भने अन्योल छ । संघीय र प्रदेश सरकारबीच समन्वय नहुँदा ती घर निर्माणले गति लिन सकेको छैन ।

विगतमा संघीय सरकारमातहत सम्झौता भएका योजनामा समस्या देखिएको यादवले बताए । ती योजना सम्पन्न गर्नका लागि प्रयास भइरहेको उनको भनाइ छ ।नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्