नेपाली खानालाई विश्वमा चिनाउने सेफ साहको चाहना (भिडियोसहित) « Image Khabar


नेपाली खानालाई विश्वमा चिनाउने सेफ साहको चाहना (भिडियोसहित)


नरेन्द्र मानन्धर
३ पुष २०७७, शुक्रबार १९:५४

काठमाडौं । बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूकेमा उप विजेता बनेका सिरहाका सन्तोष साहले नेपाली मौलिक खाना र पाक कलालाई विश्वसामू चिनाउने चाहना रहेको बताउनुभएको छ ।

उपबिजेता बनेपनि ईमेज टेलिभिजनसँग कुराकानी गर्दै उहाँले नेपालको ठाउँ अनुसारका परिकारहरू फरक–फरक हुने भएकाले नेपाली खानालाई विश्वसामू पु¥याउन पकाउन सक्ने दक्ष जनशक्ति र स्थानको उचित व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

नेपाल कला र संस्कृतिमा मात्र होईन मौलिक खाना, रैथाने स्वाद र पाक कलामा पनि विशिष्ट पहिचान बोकेको छ । नेवार, थारु, मैथली, मगर, राईलिम्बु लगायतका विभिन्न समुदायका आफनै मौलिक स्वादका खानाहरु छन् । तर प्रचार–प्रसारको अभावमा समुदायभित्र मात्र सिमित भएको छ । तर यही खाना र पाक कलालाई सिरहाका संन्तोष साहले अहिले मास्टर सेफ प्रोफेसनल्समार्फत अन्तर्राष्ट्रिय रुपमा चिनाउन सहयोग पुयाएका छन् । साह नेपालको यःमरी, गुन्दु्रक, जिम्बु र कोदोले नै विश्वमा चिनाउन सकिने बताउनु हुन्छ । यसका लागि नयाँ तरिका र योजना आवश्यक रहेको उहाँको भनाइ छ ।

सेफलाई नेपालमा महत्व नदिए पनि विदेशमा ठूलो सम्मान रहेको भन्दै उहाँले नेपाली परिकारलाई विश्वमा चिनाउने हो भने बढी सेफ उत्पादन गर्ने पयो र रेष्टेरेन्टहरु पनि खोल्नु पयो । सरकारले सेफ र आतिथ्य क्षेत्रलाई प्राथमिकता दिनु पर्ने साहको जोड रहेको छ ।

सदियौदेखि संस्कार नै वनिसकेको नेवार खाना, परिकार र पाक कला विशिष्ट रहेकोले यसबाट नेपालले मात्र होईन विश्वले नै सिक्न सकिने उहाँको भनाइ छ । पक्कै पनि अब व्यक्तिले होइन ठोस योजनासहित सरकार र सरोकारबालाहरुको निरन्तर इच्छा शक्तिले मात्र नेपाली खाना र परिकारलाई विश्वमा चिनाउन सकिन्छ । एक व्यक्तिको सफलता पनि देश र राष्ट्रको लागि नै हो ।

प्रतिक्रिया दिनुहोस्