
काठमाडौं । आईएमई ग्रुपले विदेशमा कोरोनाबाट ज्यान गुमाएका मृतकका परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम वितरण गरेको छ ।
शुक्रबार काठमाडौंमा आईएमई ग्रुपका अध्यक्ष समेत रहेका उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले संयुक्त रूपमा रकम वितरण शुरु गर्नु भएको हो । कामदारको रुपमा विदेश पुगेका मृतकका परिवार मध्ये काठमाडौंमा उपलब्ध सात परिवारलाई ‘आईएमई भरोसा कोष’ को रकम हस्तान्तरण गरिएको छ ।
कोरोनाको कारण साउदी अरबमा मृत्यु भएका ५, बहराइन र कतारमा मृत्यु भएका एक–एक जनाको परिवारले शुक्रबार प्रतिपरिवार ५० हजार रुपैयाँ सहयोग रकम पाएका छन् ।
चेक हस्तान्तरण गर्दै महासंघका वरिष्ठ उपाध्यक्ष ढकालले श्रमका लागि विदेश पुगेर उतै मृत्युवरण गरेका कामदारका परिवारको पीडालाई थोरै भएपनि कम गर्न कोषले पहल गरेको बताउनुभयो ।
आइएमईले २०७६ साल पुष १६ देखि २०७७ असोज ३० गते सम्म कोरोनको कारण बिदेशमा मृत्यु भएका परिवारलाई आवेदन दिन आह्वान गरेको थियो । यस अवधिमा कुल ८१ वटा आवेदन परेको थियो । आगामी पुष मसान्त भित्र सबै परिवारलाई सहयोग रकम हस्तान्तरण गरिने आइएमई ग्रुपले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्