
काठमाडौं, साउन २६ । आर्थिक वर्ष २०७५/७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्बभन्दा बढि रहेको छ ।
यो बर्ष आयात १४ खर्ब १८ अर्बको हुँदा निर्यात जम्मा ९७ अर्ब १० करोड रुपैयाँको मात्रै रहँदा व्यापार घाटा उक्त अंकमा पुगेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी पेट्रोलियम पदार्थको आयात भएको छ । विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २ खर्ब ५३ अर्बको पेट्रोलियम पदार्थमात्रै आयात भएको छ ।
यस्तै दोस्रोमा फलाम तथा स्टिलजन्य वस्तुहरु आयात भएका छन् । गत आर्थिक वर्षमा फलाम तथा स्टिलजन्य वस्तुहरु १ खर्ब ४३ अर्बको आयात भएको छ भने १ खर्ब २० अर्बको मेसिनरी सामाग्री आयात भएको भन्सार विभागको तथ्यांक छ ।
यस अवधिमा विद्युतीय सामाग्रीमात्र ९२ अर्ब २६ करोड तथा सवारी साधन ९१ अर्बको आयात भएको भन्सार विभागले जनाएको छ । यस्तै प्लास्टिकजन्य वस्तुहरु ५२ अर्ब ५५ करोड, बहुमुल्य धातुहरु ५२ अर्ब ४९ करोडको आयात भएको छ भने खाद्यान्न मात्रै ५१ अर्ब ८० करोडको आयात भएको भन्सार विभागले जनाएको छ ।
गत आर्थिक वर्षमा ३७ अर्ब १२ करोडको घिऊ, तेल तथा ३० अर्ब बढीको औषधीजन्य वस्तुहरु आयात भएको भन्सार विभागको तथ्यांक छ । यसरी बढ्दो व्यापार घाटा रोक्नका लागि सरकारले उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा विज्ञहरुको सुझाव छ ।
बढिरहेको व्यापार घाटा न्युनिकरण गर्नका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सरकार गम्भिर हुनैपर्नेमा पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझा जोड दिन्छन् ।
यस अवधिमा निर्यात पनि अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि भएको छ । अघिल्लो वर्ष ८१ अर्ब ३५ करोडको निर्यात भएकोमा यस वर्ष बढेर ९७ अर्ब १० करोडको निर्यात भएको छ ।
प्रतिक्रिया दिनुहोस्