अध्यादेशविरुद्ध परेको रिटका आज सर्वोच्चमा पेसी, संवैधानिक इजलासमा सुनुवाई हुने « Image Khabar


अध्यादेशविरुद्ध परेको रिटका आज सर्वोच्चमा पेसी, संवैधानिक इजलासमा सुनुवाई हुने


Imagekhabar
३ पुष २०७७, शुक्रबार १०:५६

काठमाडौं, पुस ३ । संवैधानिक परिषदसम्बन्धी सरकारले जारी गरेको अध्यादेशविरूद्ध सर्वोच्च अदालतमा परेको रिटको शुक्रबार (आज) पेसी तोकिएको छ ।

अधिवक्ताहरु अधिवक्ता ओमप्रकाश अर्याल र दिनेश त्रिपाठी र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, मन्त्रिपरिषद्, संवैधानिक परिषदलाई विपक्षी बनाएर बुधबार दायर गरेको छुट्टाछुट्टै रिटको शुक्रबार पेसी तोकिएको हो ।

उक्त रिटको संवैधानिक इजलासमा सुनुवाई हुनेछ । संवैधानिक परिषदमा रिक्त पदाधिकारी नियुक्तिको प्रयासमा दुई पटकसम्म बोलाइएको बैठक स्थगित भएपछि गत मंगलबार बसको मन्त्रिपरिषद बैठकले नयाँ अध्यादेश ल्याएको हो ।

तर, सत्तारूढ दलभित्रैबाट पनि चर्को आलोचना भएपछि प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने बताइसक्नुभएको छ ।

सरकारले ल्याएको संवैधानिक परिषद (काम, कर्तव्य र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ मा प्रधानमन्त्रीसहित संवैधानिक परिषदका पदाधिकारीको मौजुदा संख्याको बहुमत भए परिषद बैठक बस्ने व्यवस्था छ ।

अध्यादेशको नयाँ व्यवस्था अनुसार परिषदका ५ जना मध्ये ३ जनाको उपस्थितिमा बैठक बस्न सक्नेछ र बहुमत अर्थात् दुई जनाले निर्णय गर्न सक्नेछन् ।

यसअघि जारी भई फिर्ता लिइएको अध्यादेशमा पनि यस्तै व्यवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्