Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


भारतीय सेनाप्रमुख रावतले किन भने ‘नेपालले श्रीलंकासँग सिकोस्’


13
Shares

india chief of defence staff bipin raout

काठमाडौं, पुष २ । भारत नेपाल–चीन सम्बन्धका बारेमा फेरि बोलेको छ ।

भारतको तीन वटै सेनाका प्रमुख अर्थात् चीफ अफ डिफेन्स स्टाफ (सीडीएस) जनरल बिपिन रावतले नेपालको नाम लिँदै श्रीलंकासँग सिकोस् भन्नुभएको हो ।

नेपालले श्रीलंका र अरु देशबाट सिक्नुपर्ने सीडीएस जनरल रावतको भनाइ थियो ।

एक कार्यक्रमका क्रममा रावतले नेपालको चीनसँगको सम्बन्धलाई लिएर यस्तो बताउनुभएको भारतीय समाचार संस्था एएनआईलाई उधृत गर्दै अमर उजालाले लेखेको छ ।

रावतले भन्नुभयो, ‘भारतको सद्भावना कुनै धागोको डोरीसँग जोडिएको होइन । अन्तरराष्ट्रीय मामिलामा नेपाल स्वतन्त्र रुपबाट काम गर्न सक्दछ । तर उसले श्रीलंका र अरु देशबाट चनाखो भई सिकोस् कि जसले यस क्षेत्रका अरु देशसँग पनि सम्झौता गरेका छन् ।’

यस क्षेत्रका अन्य देशका साथ श्रीलंकाले सम्झौता गरेको भनेर जनरल रावतले चीनतर्फ इशारा गर्नुभएको हो । चीनले श्रीलंकामा बन्दरगाह बनाउनका लागि दिएको ऋणको भारमा श्रीलंका थिचिएको भनेर त्यहाँको आन्तरिक राजनीतिक मुद्दा नै पनि बनेको छ ।