लौ हेर्नुस्, ओलीलाई गलाउने पत्रः सांसदास्त्र ! « Image Khabar


लौ हेर्नुस्, ओलीलाई गलाउने पत्रः सांसदास्त्र !


Imagekhabar
२ पुष २०७७, बिहीबार ०८:१२

kp bidhya

काठमाडौं, पुष २ । मंसिर ३० गते संवैधानिक परिषदमा आफूनुकूल संशोधन गर्दै राष्ट्रपति विद्या भण्डारीबाट ‘बिजुली गति’ मा अध्यादेश जारी गराउनु भएका प्रधानमन्त्री केपी ओली पुष १ गतेको दिउँसो हुँदानहुँदै लत्रक्कै पर्नुभयो ।

२४ घटाअघि पार्टीभित्र र बाहिरका विपक्षी अघिल्तिर हूँकार गरिरहनु भएका प्रधानमन्त्री ओलीलाई फतक्कै गलाउने अस्त्र थियो, संसद अधिवेशन आह्वानको माग गर्दै नेकपाका सांसदहरुले लेखेको पत्र ।

पार्टीभित्रका विपक्षी अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले पनि कुनै उपाय नदेखेपछि आफू पक्षीय ८३ सांसदको हस्ताक्षर गराएर ‘बिजुली गति’मा अध्यादेश जारी गराउने राष्ट्रपति कार्यालयमा संसदको विशेष अधिवेशन मागको पत्र दर्ताका लागि लिएर पुगे ।

तब त्यही बीचमा शितलनिवास र बालुवाटारको नौ नाडी खिंचियो र अघिल्लो दिनसम्म दाहालसँग संवादमै बस्न नमान्नु भएका र स्थायी कमिटी बैठकमा आउन्न भनिरहनुभएका उहाँ ३६० डिग्रीमा फर्कनु पर्‍यो ।

दोस्रो पटक जारी गराएको एकै प्रकृतिको अध्यादेश फिर्ता लिने, स्थायी कमिटी बैठकमा सामेल हुने र अर्का अध्यक्षले आफूमाथि लगाइएका आरोप पत्रमाथि छलफल हुने विषय मान्नुपर्‍यो ।

यद्यपि, ६/६ घण्टा कुर्दासम्म पनि ८३ जना सांसदले विशेष अधिवेशनको आह्वानको माग गर्दै लगिएको पत्र राष्ट्रपति कार्यालयले दर्ता नै गर्न मानेन । राष्ट्रपति कार्यालयका सचिव सम्पर्कविहीन बनेर नेकपा नेता भीम रावल र पम्फा भुषाललाई कुराइदिए ।

राष्ट्रपति विद्या भण्डारीलाई संबोधन गरी लेखिएको यस्तो ‘क्षेप्यास्त्र’ कै काम गर्ने पत्रमाचाहिं के थियो त ?

संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी भएको विषयमा छलफल गर्न जरुरी रहेकाले संसद बैठक बोलाउन माग गरिएको पत्रमा लेखिएको छ, ‘जनताका माग आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनुपर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात् संवैधानिक परिषद (काम कर्तव्य र अधिकार) ऐन २०६६ लाई संशोधन गर्न मन्त्रिपरिषदबाट अध्यादेश सिफारिस गर्नु भई सो अध्यादेश जारी भएकाले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको छ ।’

संविधानको व्यवस्था अनुसार नै प्रतिनिधि सभाका सम्पूर्ण सदस्य संख्याको एक चौथाई बढी सांसदहरूले बैठक बोलाउन अनुरोध गरेको विषय पनि पत्रमा उल्लेख छ ।

हेर्नुस् पत्रः

प्रतिक्रिया दिनुहोस्