उखु खेती गर्न लिएको ऋण तिर्न घरवास बेच्दै किसान « Image Khabar


उखु खेती गर्न लिएको ऋण तिर्न घरवास बेच्दै किसान


Imagekhabar
२९ मंसिर २०७७, सोमबार ०६:१७

काठमाडौं । सर्लाहीका सयौँ किसान अहिले घरघडेरीसमेत जोगाउन नसक्ने अवस्थामा छन्, उनीहरूको ‘दोष’ यत्ति हो– उखु किसानीबाट उन्नति हुन्छ भन्ने विश्वास गरेका थिए ।

 मल, बिउ मात्र होइन, जग्गा भाडाबापतको ऋण ३६ प्रतिशत ब्याजसहित बढिरहेको छ । उता उखु किन्ने मिलका साहुको नाकमुख देख्ने ‘भाग्य’समेत जुरेको छैन ।

सर्लाही धनकौल गाउँपालिका– २ का रुचा साह यतिवेला १० धुर घडेरी र घरसमेत साहुलाई बुझाउनुपर्ने चिन्तामा छन् ।

उनको ‘दोष’ यत्ति हो, उनले उखु किसानीबाट उन्नति हुन्छ भन्ने विश्वास गरेका थिए । 

६० वर्षका कानुको परिवारमा श्रीमती, दुई छोरा, दुई बुहारी र चार नाति–नातिनासहित १० जनाको परिवार छ ।

तर, सम्पत्तिको नाममा खपटाले छाएको एक तलाको घरबाहेक केही छैन ।

त्यो घर पनि उनले स्वदेशमा मात्र होइन, भारतको पन्जाबमा समेत ज्यामी गरेर जोडेका हुन् ।

तर, आफ्नै गाउँमा किसानी गर्छु भन्ने सोचेर उनले लगानी गरे, ‘किसानी गर्छु भनेँ, त्यसमा पनि उखुखेती त दशा लागेरै गरिएछ,’ उनी हरेश खान्छन् । 

खेती गर्न आफ्नै जमिन थिएन, हुन्डा (भाडा) लिएर उनले उखु लगाए ।

कानुले २५ सय रुपैयाँ प्रतिकट्ठाका दरले स्थानीय महाजनको तीन बिघा जग्गा हुन्डामा लिएका थिए ।

तर, उखु बेचेको पैसा आएन, साहुले हुन्डा (जग्गा भाडा)को पैसा छाडेन । फलतः उनले आफैँ बस्ने घर पनि गत वर्ष नै साहुको नाममा बन्धकी सहीछाप गरिदिएका छन् । 

उनले यता हुन्डाको रकमको ब्याज बढेको बढ्यै छ, उता उखु मिलले साँवा पनि दिने ठेगान छैन ।

त्यसमाथि साँझ–बिहान भेट हुने जग्गा साहुले ऋण निखन्न ताकेता गर्छन् । उता उखु मिल साहुको नाकमुख देख्ने ‘भाग्य’ उनलाई जुरेको छैन ।

उता घरनजिकैको अन्नपूर्ण चिनी उद्योगलाई आर्थिक वर्ष ०७४/७५ मा बेचेको पाँच सय क्विन्टल उखुको एक पैसा पनि दिएको छैन ।

हुन्डाबापतको तीन लाख एक वर्षसम्म तिर्न नसकेपछि साहुले अहिले ब्याजदर बढाएका छन्– अब, ३६ प्रतिशत ।

हो, तीन लाख रुपैयाँको ब्याज मात्रै एक वर्षमा एक लाख आठ हजार हुन्छ । 

‘मिलले पैसा दिएको भए ऋणमा डुब्नु पर्दैनथ्यो,’ उनी भन्छन्, ‘घरनजिकै उद्योग खुलेपछि उखु बेच्न पाइन्छ भनेर खुसी लागेको थियो, तर यो त गरिब किसानको उठिबास लगाउन आएको रहेछ ।’ 

उखुमा लागेको मल, बिउ, कटानी, ढुवानी खर्च र जग्गा हुन्डाबापतको ऋणले उनलाई आधुनिक युगको ‘बन्धक’ बनाएको छ ।

हामी उनको घर पुग्दा परिवारका लागि खान राखेको धान बिक्री गर्न ट्र्याक्टरमा लोड गर्दै थिए ।

‘यही धान बेचेर भए पनि साहुको ब्याज तिर्ने तयारी गर्दै छु । यसरी अन्नसमेत बेचेर ब्याज तिर्नुपरिरहेको छ,’ उनले भने, ‘अब परिवारलाई के खुवाउने होला । अब ब्याज पनि तिर्न नसक्ने र मिलबाट पैसा नपाउने हो भने सुकुमबासी बन्ने निश्चित छ ।’

सोही गाउँका हरिनन्दन राय यादवले तीन वर्षअघि उद्योगलाई दिएको उखुको पैसा पाएका छैनन् । उद्योगले उनलाई दुई लाख ५० हजार रुपैयाँ दिएको छैन ।

पैसा माग्न उनी दर्जनौँपटक पुगिसके, तर पैसा पाउने छाँटकाँट छैन । अझ, रायको घर गत वर्षायाममा आधा ढल्यो ।

उनी भन्छन्, ‘उखुको पैसा आएपछि घर बनाउँला भनेको छु, तर अहिलेसम्म बेहाल छ । उनी त्यही आधा भत्किएको घरमा जेनतेन गुजारा चलाइरहेका छन् । 

दुई छोरालाई विद्यालय भर्ना गर्न पनि उनले ऋण लिनुपरेको छ । मासिक शुल्क तिर्न सकेका छैनन् ।

घरखर्च, छोराहरूको पढाइखर्च, वेलाबखत उपचार खर्च र खेतीपाती गर्दाको खर्च । ती सबै टार्न उनले महाजनबाट तीन लाख रुपैयाँ ऋण लिइसकेका छन् ।

अब त्यो ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन्, यादव । उद्योगले पैसा दिए साहुको ऋण तिरेर ढुक्क भएर बस्ने रहर छ, हरिनन्दनको ।

तर, आफ्नै पसिनाको मूल्य पनि सपनाको फलजस्तो भएको छ । 

सर्लाहीकै धनकौल गाउँपालिका–६ हनुमान नगरका द्रोण राय यादवले पनि दुई वर्षअघि अन्नपूर्ण चिनी उद्योगलाई सात लाखबराबरको उखु बेचे, तर उद्योगले अहिलेसम्म एक पैसा पनि दिएको छैन ।

उनले किसानी गर्दा लागेको ऋण तिर्न सात कट्ठा खेत बेचे । उनी अहिले पनि पैसा लिन सकिन्छ कि भनेर दैनिक उद्योग धाउँछन् । तर, साँझ निराश फर्कन्छन् । 

उद्योगले पैसा नदिएपछि ठूलो समस्यामा परेका छन्, सोही गाउँका जोेगिन्दर राय । ६० वर्षका रायले यसअघि हुन्डामा जग्गा लिएर उखु लगाउँथे ।

उद्योगले पैसा नदिएपछि उनले साहुलाई पैसा दिन सकेनन्, त्यसैले खेत खोसियो । तर, ऋणको दायित्वबाट उनी मुक्त भएका छैनन् । ‘बरु, अब साहुले हाम्रो घरवास नै कहिले उठाउने हो भन्ने छ,’ उनी त्रसित छन् । 

एक छोरी मुटुको बिरामी छिन् । अपांगता भएका उनका एक छोरालाई स्कुलमा भर्ना गर्दाको ऋणसमेत बाबु जोगिन्दरले आजसम्म पनि तिर्न सकेका छैैनन् ।

जम्मा पाँच कट्ठा जग्गामा उब्जेको अन्नले उनको परिवारलाई वर्षदिन खान पुग्दैन । त्यसमाथि उनी आफैँलाई क्षयरोग लागेको छ ।

‘उखु बेचेको वर्षौँ भयो, मिलले पैसा दिने कुरै गर्दैन । यो संकट कसरी टार्नु ? महाभारत भएको छ,’ उनी भन्छन् । 

उनलाई पनि आफ्नो माग लिएर काठमाडौं जाने मन छ । तर, सक्दैनन् । ‘एकपटक काठमाडौं जाँदा १० हजार खर्च हुन्छ, ऋण झ्न थपिन्छ,’ उनले भने ।

सर्लाहीकै गोडैता नगरपालिका– १० का नथुनी ठाकुरको कहानी झन् दर्दनाक छ । उनले उखुको कटानी, ढुवानी खर्च तिर्न गाउँकै महाजनसँग ब्याजमा ऋण लिएका थिए ।

‘उखुको पैसा आउला र तिरौँला भन्दाभन्दै दुई वर्ष बित्यो, तर पैसा आएन । यता महाजनले ऋण तिर्न ताकेता गर्न थाले,’ उनी भन्छन्, ‘ऋण तिर्ने कुनै उपाय नभएपछि आफैँ खेती गरेर खाने पाँच कट्ठा जग्गा नै बेचेर महाजनको ऋण तिरेँ ।’

त्यसपछि उनलाई ऋणको झमेला त हट्यो, तर साँझबिहान छाक टार्नै मुस्किल छ ।

खेती गरेको फसल बेच्दा खेतै बेच्नुपर्ला भन्ने सपनामा पनि सोचेका थिएनन्, ठाकुरले । नजिकै उद्योग स्थापना हुँदा उखु बेच्न सजिलो हुने भयो भनेर खुसी भएका थिए ।

तर, मिलले रुवाएपछि उनी भन्छन्, ‘गाउँमा मिल नखुलेको भए हुने थियो, कम्तीमा यो दुःखमा त पर्ने थिएनौँ ।’

सर्लाहीका महालक्ष्मी र अन्नपूर्ण सुगर मिलले उखु किसानलाई ३०–४० हजारदेखि १०–१५ लाखसम्म बक्यौता दिन बाँकी छ ।

खेतीपातीलाई मुख्य पेसा बनाएका किसानमध्ये ८० प्रतिशतले अरूको खेत ठेक्का÷बटैयामा लिने गर्छन् । अधिकांश किसानले खेतमा उत्पादन गरेको अन्नपात बेचेर ठेक्का/बटैया बुझाउँछन् ।

वर्षौँसम्म आफूले बिक्री गरेको फसलको पैसा नपाएका अधिकांश उखु किसान घरखेत गुमाइरहेका छन् । जग्गा भएकाले जायजेथा बेचेर पैसा तिरिरहेका छन् ।

त्यो पनि नहुनेहरू ३६ प्रतिशत ब्याजमा ऋण लिएर उखुखेती गर्दाको ऋण भुक्तानी गर्न बाध्य छन् ।नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्