चिनी उद्योगले समयमा भुक्तानी नदिदा किसानहरु भेली उद्योगमा उखु बिक्री गर्दै « Image Khabar


चिनी उद्योगले समयमा भुक्तानी नदिदा किसानहरु भेली उद्योगमा उखु बिक्री गर्दै


हरि शर्मा
२८ मंसिर २०७७, आईतवार १५:११

हरि शर्मा (इमेज)
नवलपरासी, मंसिर २८ । चिनी उद्योगहरुले समयमा भुक्तानी दिन छाडेपछि पश्चिम नवलपरासीका उखु किसानहरुले भेली उद्योगमा उखु बिक्री गर्न थालेका छन् ।

उद्योगलाई उद्यारो दिनुभन्दा नगदै पाइने भएकाले किसानहरुले भेली उद्योगलाई उखु बिक्री गर्न थालेका हुन् ।

चिनी उद्योगको भुक्तानी ढिलाईका कारण पश्चिम नवलपरासीमा यसवर्ष उखु उत्पादनमा कमि आएको छ ।

उत्पादनमा कमि आएपछि प्रयाप्त उखु नपाइने भन्दै भेली उद्योगहरुले गतवर्ष भन्दा दोब्बर मूल्य तिरेर किसानहरुसँग उखु खरिद गर्न थालेका छन् ।

अहिले भेली उद्योगहरुले प्रति क्विण्टल ५ सयदेखि ५ सय २० रुपैयाँसम्म उखु खरिद गर्ने गरेका छन् ।

गतवर्ष १५ देखि १८ लाख क्विण्टल उखु उत्पादन हुँदै आएको जिल्लामा यसवर्ष १० देखि १२ लाख क्विण्टल मात्र उत्पादन भएको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश यादवले बताउनुभयो ।

जिल्लामा १ सय बढी भेली उद्योग छन् । तिमध्ये बढीमा १५ उद्योगले मात्र अनुमति लिएर सञ्चालनमा छन् ।

चिनी उद्योगलाई उखु उपलब्ध गराएका किसानहरुलाई समयमा रकम नपाउँदा घर खर्च चलाउन समेत समस्या छ ।

भुक्तानीका लागि वर्षौ कुर्नुभन्दा हातहातै पैसा पाइने भएकाले भेली उद्योगलाई उखु दिन थालेको किसानहरुको भनाई छ ।

बजारमा अहिले भेलीको मूल्य नभएपनि उत्पादन कमिका कारण उखु नपाईने भएकाले महंगोमा खरिद गरेर उद्योग सञ्चालन गरेको व्यवसायीहरुले बताएका छ्न ।

उखु कमिकै कारण पूरा समय उद्योग सञ्चालन गर्न नपाइएको प्रतापपुर गाउँपालिका–८ पिपरपातिका भेली उद्योग सञ्चालक विश्वनाथ यादवले बताउनुभयो ।

जिल्लामा ३ वटा चिनी उद्योग छन् । यसवर्ष बागमती खाँडसारी चिनी उद्योग मात्र सञ्चालनमा छ ।

गतवर्षको बीच समयमा आएर बन्द भएका लुम्बिनी र इन्दिरा चिनी उद्योगले अहिलेसम्म सञ्चालनको तयारी गरेका छैनन् ।

सञ्चालनमा आएको बागमती खाँडसारी चिनी उद्योगले समेत उद्यारोमा रकम भुक्तानी गर्ने भन्दै सूचना निकालेको छ ।

उद्योगको १८ करोड र सरकारी अनुदानको ५ करोड गरी जिल्लाका किसानहरुले २३ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।

अनुदान बापत गतवर्ष कोष तथा लेखा नियन्त्रक कार्यालयमा आएको ५ करोड रुपैयाँ समेत किसानले पाएका छैनन् ।

कागजपत्र जुटाउने झण्झटिलो प्रकृयाका कारण किसानले अनुदानबापतको रकम पाउन नसकेको गुनासो गरेका छन् ।

तसर्थ उखु खेतीप्रति किसानहरुलाई आर्कषित गर्न सरकारले समयमा भुक्तानीको व्यवस्था र प्रोत्साहानका कार्यक्रम सञ्चालन गर्न आवश्यक छ ।

भिडियो हेर्नुहोस्

https://youtu.be/qvbjqSbhoFo

प्रतिक्रिया दिनुहोस्