सिमराबाट ‘माउन्टेन फ्लाइट’ सुरु « Image Khabar


सिमराबाट ‘माउन्टेन फ्लाइट’ सुरु


इमेजखबर
२७ मंसिर २०७७, शनिबार १७:०८

बारा, मंसिर २७ । यती एअरलाइन्सले प्रदेश नम्बर–२ को नयाँ सहर सिमराबाट पर्वतीय उडान (माउन्टेन फ्लाइट) सुरु गरेको छ ।

हप्तामा एक दिन शनिबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटमात्र माउन्टेन फ्लाइट सञ्चालन गर्दै आएको यतीले शनिबारदेखि सिमरा उडान थालेको हो ।

सिमराका पर्यटन तथा होटल व्यवसायी, उद्योगी र जनप्रतिनिधिको अग्रसरतामा एअरलाइन्सले तराईबाट पहाड घुमाउने पर्वतीय उडान सुरु गरेको हो ।

पर्वतीय उडानले भारतीय पर्यटकको तराई बसाइ र कम खर्च हुने हुँदा यात्रुको आकर्षण बढ्ने विश्वास गरिएको छ ।

उडानमा जाँदा सगरमाथा, मकालु, ल्होत्से, गौरीशंकरलगायत हिमशृंखलाहरुको मनोरम दृश्य हेर्न पाइने छ ।

प्रदेश–२ होटल तथा पर्यटक व्यवसायी संघका महासचिव मोहन शर्माले सिमराबाट भएको पहिलो पर्वतीय उडानले प्रदेशको पर्यटन प्रवर्द्धनका साथै पर्वतीय उडानका लागि काठमाडौं जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो ।

लामो बन्दाबन्दीपछि शिथिल अवस्थामा रहेको पर्यटनलाई पर्वतीय उडानले गति प्रदान गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्