
काठमाडौं, साउन २३ । अमेरिका र चीनको व्यापारिक तनाव बढे पनि चीनको निकासी प्रक्षेपण गरेभन्दा बढी देखिएको छ । तर, आयात भने निरन्तर घटेको छ ।
यस वर्षको पहिलो ६ महिनामा अमेरिकासँगको व्यापार तनाव तथा विश्वव्यापी माग घटेका कारण चीनको औद्योगिक उत्पादनमा पनि कमी आएको छ ।
तर, जुलाईमा भने चीनको निर्यात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.३ प्रतिशतले बढेको छ ।
चीनको अर्थतन्त्रको वृद्धि हाल ६.२ प्रतिशत रहेको छ । यो वृद्धि विगत ३० वर्षको अवधिमा सबैभन्दा न्यून हो ।
चीनको व्यापार बचत जुलाईमा ४५.१ अर्ब अमेरिकी डलरमा झरेको छ र यो गत जुन महिनामा ५१ अर्ब डलर थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी सेप्टेम्बर १ देखि लागू हुनेगरी थप ३०० अर्ब डलर बराबरका चिनियाँ सामानमा १० प्रतिशत करवृद्धि गर्ने घोषणा गरेपछि दुई मुलुकको व्यापारिक तनाव थप बढेको छ ।
जवाफमा चीनले पनि आफ्नो मुद्रा युआन अवमूल्यन गर्दै अमेरिकी कृषिजन्य सामान खरिदलाई स्थगन गरेको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्