
काठमाडौं । सिरहाको गोलबजार नगरपालिकाले सडकको धुलो छोप्ने नाममा करोडौं रकम खर्चिसकेको छ। तर नगरपालिकाभित्रका विपन्नको शरीर ढाक्न न्यानो लुगा उपलब्ध गराउन सकेको छैन। जसका कारण वर्षैपिच्छेको शीतलहर उनीहरूका लागि कहर सावित भइरहेको छ।
गोलबजार नगरपालिका–१० मुसहरी टोलकी ४० वर्षीया कुन्ती सदा घाम लागेपछि ओछ्यानमुनि ओछ्याएको पराल बाहिर सुकाउन निस्किन्छिन्।
राति चिसो भुइँले ओसिएको ओछ्यानको पराल दिनभरको घाममा न्यानो पारेर राति फेरि बिछ्याउनु उनको हिउँदको दैनिकी हो।
‘घरेमे सरकार एला पर जाड स गरिबके नै कठुवाई परतै कहैछेलै सब झुठेके प्रचार छेलै (दैलोमै सरकार आएपछि गरिब कठ्यांग्रिएर सास्ती खेप्नु पर्दैन भन्थे सब झुटो प्रचार रहेछ)’, कुन्तीले भनिन्, ‘गरिबके सहारा दैबाला सरकार कतौने छै (गरिबलाई सहारा दिने सरकार कतै छैन)। घरमे सरकार एलो पर हमरा सबके देह आ बिछौना गरम नै भैलै (दैलोमै सरकार आए पनि गरिबका लागि न्यायो आएन)।’
मधेसका गाउँमा मंसिर मध्यबाटै बिहान–साँझ चिसो बढेको छ। शरीर कठ्यांग्रिन थालेको छ। हुनेखानेले ज्यानलाई जतन गरेर राखेका छन्। बाक्लो लुगा पहिरेर शरीर न्यानो राख्न थालेका छन्। तर सुकुमबासी, विपन्न समुदायमा बर्सेनि शीतलहर कहर बनेर आउँछ।
बनिबुतो गरेर दुई छाक जेनतेन टार्ने सुकुम्बासीलाई चिसो छल्ने न्यानो कपडा र सिरक–डसना किन्न हैसियत हुँदैन। चिसो बढेपछि बस्तीका अभावपीडितहरू निदाउन सक्दैनन्।
‘जाड बढ्ला पर राइतमे निन नै होइछै, लार पजाइर क आइग तापु त भँइयामे बिछाउब कथी (शरीर कठ्यांग्रिँदा राति निद्रा लाग्दैन, पराल बालेर आगो तापौं भने चिसो भुइँमा के बिछ्याउने)’, यही पिरलोमा धोबियाधारको सुकुमबासी बस्तीको दिनरात कटिरहेको छ।
३५ वर्षीय लक्ष्मिनिया सदाको एककोठे छाप्रोमा छ जनाको परिवार कोचिएर बस्नुपर्ने बाध्यता छ। जाडो छल्न उनले परालसँगै घरका पुराना कपडा बेरेर ओढ्न र ओछ्याउने बनाएका छन्।
सुकुमबासी टोलकी ६० वर्षीया सुदामा सदायले शरीर न्यानो बनाउन आगो तापेरै रात बिताउने गरेको सुनाइन्।
चिसो बढेपछि अति विपन्न र गरिब बस्तीमा परालकै सिरक–डसना र गुइँठा बालेर जीवनयापन गर्नु बाध्यता बनेको छ। गोलबजार–१० धोबियाधारको डिलमा रहेको सुकुमबासी मुसहर बस्तीमा वर्षामा डुबान र शीतलहरमा चिसोको पिरलो खेप्नुपरेको छ। नागरिक
प्रतिक्रिया दिनुहोस्