सशस्त्रले फुटबल एकेडेमी सञ्चालन गर्ने « Image Khabar


सशस्त्रले फुटबल एकेडेमी सञ्चालन गर्ने


इमेजखबर
२३ मंसिर २०७७, मंगलवार १९:२८

काठमाडौं, मंसिर २३ । विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ)ले अब आफ्नै फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ ।

शीर्ष डिभिजनको लिग खेल्ने क्लबले आफ्नै एकेडेमी सञ्चालन गर्न लागेको यो पहिलोपटक हो ।

मंगलबार हलचोकमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच सम्झौता भएको हो ।

सम्झौतापत्रमा एन्फाका तर्फबाट अध्यक्ष कर्माछिरिङ शेर्पा तथा एपीएफबाट महानिरीक्षक शैलेन्द्र खनाल तथा अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले हस्ताक्षर गर्नुभयो ।

महानिरीक्षक खनालले सम्झौताले नेपाली खेलकुदको विकासमा एउटा इँटा थपेको भन्दै प्रतिभाहरुको पहिचान गरी खेल र शिक्षाबाट वञ्चित भएकाहरुलाई अवसर सृजना गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

एन्फा अध्यक्ष शेर्पाले सम्झौता नेपाली फुटबलको विकासमा कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।

१४ वर्ष उमेर समूहको फुटबल एकेडेमीमा एपीएफबाट सात, एन्फाबाट सात तथा खुला छनोटबाट सात गरी जम्मा २१ जनालाई भर्ना गरिने बताइएको छ ।

एन्फाबाट छनोट भएका खेलाडीलाई एन्फाले नै सहयोग गर्ने भएको छ ।

सो एकेडेमी सञ्चालन गर्न वार्षिक १० लाख रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको छ ।

फिफा तथा एएफसीको ए लाइसेन्सिङ मापदन्डभित्र पर्ने यो युथ लेभलको कार्यक्रमलाई नयाँ शैक्षिकसत्रबाट सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्