काठमाडौं । जिल्ला अदालत सुनसरीले हनुमान मन्दिर आश्रमका सिद्धबाबा भनिने कृष्ण गिरीलाई बलात्कार आरोपबाट सफाइ दिएको छ ।
पीडितको किटानी जाहेरीमा साथै आरोपलाई स्थापित गर्ने कम्तीमा चार प्रमाण हुँदासमेत न्यायधीश अर्जुन कोइरालाको इजलासले उनलाई सफाइ दिएको हो ।
सरकारी वकिल कार्यालयले सोमबार सुनुवाइ रोक्नुपर्ने भनी दिएको निवेदनसमेत वेबास्ता गर्दै जिल्ला अदालतले आरोपतको एकतर्फी सुनुवाइका आधारमा मुद्दा टुंग्याएको हो ।
साधनाका लागि भनेर आश्रममा बोलाएर सिद्धबाबाले आफूलाई बलात्कार गरेको भनी एक महिलाले २०७६ पुस १० गते प्रहरीमा जाहेरी दिएकी थिइन् ।
जिल्ला अदालत सुनसरीका स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले फैसलाको रायकिताबमा ‘अभियोग दाबी पुष्टि हुने प्रमाण नभेटिएकाले सफाइ हुने ठहर्छ’ भन्ने उल्लेख भएको जानकारी दिए ।
फैसलाको पूर्णपाठ तयार भइसकेको छैन । पक्राउ परेपछि आरोपित सिद्धबाबाले आफूलाई छाड्नुपर्ने माग राख्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
सर्वोच्चले केही साताअघि उनलाई थुनामै राख्ने आदेश गरेको थियो । त्यस क्रममा महान्याधिवक्ता कार्यालयमा ल्याएको मुद्दाका मिसिल जिल्ला अदालत सुनसरीमा फिर्ता भइसकेको थिएन ।
महान्याधिवक्ता कार्यालय स्रोतका अनुसार त्यही कारण देखाउँदै सुनसरीको सरकारी वकिलको कार्यालयले सोमबार सुनुवाइ रोक्न निवेदन दिएको थियो । कान्तिपुर










प्रतिक्रिया दिनुहोस्