
नयाँ दिल्ली, साउन २० । भारत प्रशासित कश्मीरलाई दिँदै आएको ‘विशेष दर्जा’ केन्द्र सरकारले फिर्ता लिएको छ । कश्मीरलाई संविधानअन्तर्गत दिँदै आएको ‘विशेष दर्जा’ अन्त्य गर्ने प्रस्ताव सोमबार राज्यसभा बैठकमा पेश गरिएको हो ।
गृहमन्त्री अमित शाहले राज्यसभा बैठकमा कश्मीरलाई दिँदै आएको विशेष दर्जा अन्त्य गर्ने प्रस्ताव गरेका हुन् । विपक्षी सांसदहरुको विरोध र नारावाजीका बीच गृहमन्त्री शाहले बैठकमा प्रस्ताव पेश गरेका थिए ।
केन्द्र सरकारले जम्मु–कश्मीरलाई स्वायत्तता दिँदै आएको संविधानको अनुच्छेद ३७० लाई अन्त्य गरेसँगै जम्मु–कश्मीर अब केन्द्र शासित प्रदेश हुनेछ । यस अतिरिक्त केन्द्र सरकारले लद्दाखलाई अलग राज्य बनाएको छ ।
गृहमन्त्री शाहले अनुच्छेद ३७० ले कश्मीरलाई देशसँग जोड्नको सट्टा अलग गरेको जिकिर गरे ।
राज्य सभाको बैठकमा गृहमन्त्रीले कश्मीरबारे विशेष प्रस्ताव पेश गर्नासाथ विपक्षी सांसदहरुले लगातार विरोध प्रदर्शन गरेका थिए । केही सांसदले आफ्ना कपडा च्यातेर विरोध जनाएका थिए । बैठक चलिरहँदा विपक्षी सांसदहरु लगातार नारावाजी गरिरहेका थिए ।
यसअघि सोमबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा मन्त्रिपरिषद बैठक बसेको थियो । मन्त्रिपरिषद बैठकले गरेको निर्णयअनुसार नै गृहमन्त्री शाहले राज्यसभा बैठकमा प्रस्ताव ल्याएको बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्