भारतीय कलाकार रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा « Image Khabar


भारतीय कलाकार रजनीकान्तद्वारा नयाँ पार्टी खोल्ने घोषणा


रासस/एएनआई
१८ मंसिर २०७७, बिहीबार २०:४४

चेन्नई, मंसिर १८ । भारतका चर्चित चलचित्र कलाकार रजनीकान्तले नयाँ पार्टी खोल्ने घोषणा गर्नुभएको छ ।

विषेश गरेर तमिल सिनेमाबाट धेरै चर्चामा रहनुभएका रजनीकान्तले आफूले नयाँ पार्टी खोल्न लागेको बिहीबार जानकारी दिनुभएको हो ।

उहाँले पार्टीको औपचारिक घोषणा भने यही डिसेम्बर ३१ तारिखका दिन गर्ने पनि बताउनुभएको छ ।

तमिलनाडुमा निर्वाचन हुन लागेको पूर्वसन्ध्यामा उहाँले पार्टी खोल्ने र निर्वाचनमा जाने बताउनुभएको हो ।

‘हामीले एउटा नयाँ राजनीतिक पार्टी गठन गरेर घोषणा गर्न लागेका छौं । जनवरीदेखि दर्ता गरेर त्यसले काम गर्न थाल्नेछ । त्यसमार्फत् हामीले अत्यन्त कडाइका साथ काम गर्नेछौं’–उहाँले भन्नुभयो ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् उहाँले दिएको जानकारीअनुसार पार्टी खोल्ने निर्णयमा पुग्नुअगाडि उहाँले धेरैसँग परामर्श गर्नुभएको थियो ।

‘मैले पटक–पटक विभिन्न व्यक्तिहरुसँग छलफलहरु गरें, उहाँहरुको सल्लाह–सुझावलाई लिएर मैले पार्टी खोल्ने निर्णयमा पुगेको हुँ’–उहाँले भन्नुभएको छ ।

आफूलाई धेरैले सहयोग गर्ने भरोसा पलाएको र आवश्यकता पनि देखिएको कलाकार रजनीकान्तले उल्लेख गर्नुभयो ।

तमिलनाडुमा सन् २०२१ को अप्रिलदेखि मेसम्म विधानसभा निर्वाचन हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्