तीन लाख बढी तिरेर नाउर र झारलको शिकार « Image Khabar


तीन लाख बढी तिरेर नाउर र झारलको शिकार


Imagekhabar
१७ मंसिर २०७७, बुधबार १०:४६

काठमाडौं । ढोरपाटन शिकार आरक्ष केन्द्रमा यस वर्षको पहिलो सिकार याममा एक नाउर र एक झारलको शिकार गरिएको छ ।

नेपाल ट्राभल एण्ड एक्पिडेसन कम्पनीमार्फत शिकारका लागि आएका बेल्जियमका नागरिक वार्य फ्रेडिक डार्कले शिकार आरक्षको धुस्तुङ ब्लकमा दुईवटा वन्यजन्तुको सिकार गर्नुभएको हो ।

शिकारीले नाउर र झारल शिकार गरेबापत सरकारलाई तीन लाख ६१ हजार पाँच सय रुपैयाँ राजस्व तिरेको कम्पनीले जनाएको छ ।

मंसिर ५ देखि १० गतेको अवधीमा उहाँले ती दुई वटा जनावरको शिकार गरेको आरक्ष केन्द्रले जनाएको छ ।

कोरोना महामारीका कारण लामो समयको लकडाउनले यस वर्षको पहिलो सिजनमा तोकिएका झारल र नाउरको शिकार हुन सकेन ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चालू आर्थिक वर्षको पहिलो याममा १० वटा नाउर र ६ वटा झारलको शिकार गर्न विश्वव्यापी बोलपत्र आह्वान गरेको थियो ।

विभागको बोलपत्रमा एउटा कम्पनीले मात्र शिकारका लागि आवेदन दिएको थियो । विसं २०४२ सालमा स्थापना भएको आरक्षमा शिकारका लागि अमेरिका, रसिया, जर्मन र फ्रान्सलगायतका मुलुकबाट व्यावसायिक शिकारी आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्