फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियनसमक्ष कोभिड–१९ खोपका लागि आवेदन « Image Khabar


फाइजर र बायोएनटेकद्वारा युरोपेली युनियनसमक्ष कोभिड–१९ खोपका लागि आवेदन


रासस/एएनआई
१६ मंसिर २०७७, मंगलवार २०:४५

बर्लिन, मंसिर १६ । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियन आबद्ध मुलुकमा प्रयोग गर्नेगरी युनियनको कार्यालयमा विधिवत् दर्ता गरेको छ ।

यदि, युनियनले स्वीकृत गरेमा युरोपेली मुलुकमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

दुवै कम्पनीका तर्फबाट जारी संयुक्त विज्ञप्तिमा सोमबार युरोपेली मेडिसिन एजेन्सी (ईएमए)मा औपचारिक निवेदन दिइएको उल्लेख छ ।

गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए ।

कम्पनीले अमेरिकामा पनि खोप वितरण गर्नेगरी अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)समक्ष निवेदन दिइरहेको छ ।

युरोपेली नियामक निकायले फाइजरले पेस गरेको विवरणको मूल्यांकन गरी खोप लगाउन उपयुक्त रहे/नरहेको विश्लेषण गरी स्वीकृति दिइने जनाएको छ ।

फाइजर र बायोएनटेकले अस्ट्रेलिया, क्यानाडा र जापानसमेतका मुलुकहरुका नियामक निकायमा पनि आवेदन दिइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्