चिनियाँ रक्षामन्त्री सैनिक मुख्यालयमा « Image Khabar


चिनियाँ रक्षामन्त्री सैनिक मुख्यालयमा


Imagekhabar
१४ मंसिर २०७७, आईतवार १५:३९

काठमाडौं, मंसिर १४ । एक दिनको नेपाल भ्रमणमा आउनुभएका चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले भद्रकालीस्थिति नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरिक्षण गर्नुभएको छ ।

निरीक्षणका क्रममा रक्षामन्त्री वेइको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारद अर्पण गरेको छ ।

जंगी अड्डामा रक्षामन्त्री वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासंग द्धिपक्षीय वार्ता गर्नुभएको छ ।

द्धिपक्षीय वार्तापछि चिनियाँ र नेपाली सेनाका प्रतिनिधिबीच सामुहिक छलफल पनि भएको छ ।

आइतबार बिहान ११ बजे काठमाडौं आईपुग्नुभएका रक्षामन्त्री वेइलाई गृहमन्त्री रामबहादुर थापालगायत उच्चअधिकारीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै रक्षामन्त्री वेइले चीन र नेपालका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका तहमा भएका द्धिपक्षीय समझादारी कार्यान्वयनका सिलसिलामा आफु नेपालको छोटो भ्रमणमा आएको बताउनुभएको छ ।

उहाँले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ र उचाइमा पुर्‍याउन आफ्नो भ्रमणको उदेश्य भएको प्रष्ट पार्नुभएको छ ।

जंगीअड्डापछि रक्षामन्त्री वेइ रक्षामन्त्रालयको समेत कार्यभार सम्हाल्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसंग अहिले शिष्टाचार भेट गर्दै हुनुहुन्छ ।

प्रधानमन्त्रीसंगको भेटपछि रक्षामन्त्री वेइ राष्ट्रपति विद्यादेवी भण्डारीसंग शिष्टाचार भेटका लागि साँझ ५ बजे शीतल निवाश जाने कार्यक्रम छ ।

चिनियाँ रक्षामन्त्री वेइ २१ सदस्सीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौ आउनुभएको हो ।

उहाँको भ्रमण टोलीमा चिनियाँ जनमुक्ति सेनाका उच्चअधिकारी समेत रहेका छन् ।

अघिल्लो वर्ष चिनियाँ राष्ट्रपति सि जिन फिङको नेपाल भ्रमणपछि वेइको पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो ।

उहाँ आइतबार साँझै फर्कदैं हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्