१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


अफगानिस्तानमा बेवारिसे बमलाई बसको ठक्कर, ३४ जनाको मृत्यु


0
Shares

फराह, साउन १५ । अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दूरीमा चल्ने एक यात्रीवाहक बसले ठक्कर दिँदा बसमा यात्रारत् कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

सुरुमा प्राप्त समाचारमा यस दुर्घटनामा परी २८ जनाको मृत्यु भएको जनाइएको थियो । स्थानीय अधिकारीहरुले उक्त घटनाको पुष्टि गरेका छन् ।

बुधबार बिहान करिब ६ बजे भएको उक्त दुर्घटनामा ज्यान गुमाउनेहरुमा अधिकांश महिला र बालबालिका रहेका स्थानीय प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई छिमेकमा रहेको हेरात प्रान्तमा उपचारको लागि पठाइएको बताइएको छ ।

घाइतेमध्ये केहीको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको संख्या पनि बढ्ने अनुमान गरिएको छ ।

यस बम अफगानिस्तानको विद्रोही समूह तालिबानले विस्फोट गराएको अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसंघले मंगलबारमात्र अफगानिस्तानमा द्वन्द्वको चपेटामा परेर सर्वसाधारण बढी मारिएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

तालिबान लडाकू समूह सुरक्षाबललाई लक्षित गरी विस्फोटक पदार्थ, सडक किनारको बम र बारुदी सुरुङ आक्रमण गर्दै आएका छन् ।

तर, तालिबान लडाकू समूहले तयार पारेका घातक घरेलु हातहतियारले पनि सर्वसाधारण जनतालाई हानि पुर्‍याउँदै आएको छ ।

अफगानिस्तानमा जारी द्वन्द्वमा यसै वर्षको सुरुको ६ महिनामा नै एक हजार ३६६ जना सर्वसाधारणको मृत्यु भएको छ भने दुई हजार ४४६ जना घाइते भएका छन् । रासस/सिन्ह्वा