घरआँगनमा खेल्दैगर्दा हराएकी बालिकाको शव झाडीमा बोराभित्र भेटियो « Image Khabar


घरआँगनमा खेल्दैगर्दा हराएकी बालिकाको शव झाडीमा बोराभित्र भेटियो


Imagekhabar
९ मंसिर २०७७, मंगलवार ०९:१९

महोत्तरी । महोत्तरीमा आइतबार साँझदेखि हराइरहेकी बालिकाको शव फेला परेको छ ।

जिल्लाको बर्दिवास नगरपालिका–१४ का शहीद आलमकी छ वर्षीया छोरी गुलाव साह खातुनको शव प्रहरीले सोमबार मध्यराति फेला पारेको हो ।

घरआँगन वरपर नै खेलिरहेकी खातुन आइतबार साँझ अचानक हराएपछि परिवारजन र प्रहरीले उनको खोजी गरिरहेको थियो ।

बालिकाको शव बर्दिवास–१४ कै शुभम बस्ती नजिकको झाडीमा बोरामा खाँदेको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

बर्दिवास–१४ को शुभम बस्तीस्थित सामुदायिक परिवार कल्याण सङ्घको कार्यालयभन्दा पश्चिम बिकरु साहको घर पछाडिको विनोद साहको खाली जग्गामा खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक राजन चापागाईँले जानकारी दिनुभयो ।

बालिकाको नियोजित हत्या गरेको आशङ्कामा प्रहरीले जिल्लाकै गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साहलाई पक्राउ गरेको छ ।

पक्राउ गरिएका साहले प्रारम्भिक सोधपुछमै खातुनको हत्या गरेको स्वीकार गरेका प्रहरी नायब उपरीक्षक चापागाँईले बताउनुभयो ।

घटना प्रकृति हेर्दा बालिकालाई बलात्कार गरेर हत्या भएको स्थानीयवासीले बताएका छन् ।

प्रहरीले भने शव परीक्षणपछि थप कुरा खुल्दै जाने जनाएको छ । शव परीक्षणका लागि प्रादेशिक अस्पताल पठाइएको र घटनास्थललाई घेरा हालेर प्रमाण सुरक्षित राखिएको प्रहरी नायब उपरीक्षक चापागाँईको भनाइ छ ।रासस

प्रतिक्रिया दिनुहोस्