राजाका प्रजा हुन मन्जुर रैतीका दुःख • Image Khabar Image Khabar


राजाका प्रजा हुन मन्जुर रैतीका दुःख


Imagekhabar
७ मंसिर २०७७, आईतवार ०८:५३

राजाका प्रजा हुन मन्जुर रैतीका दुःख

-संजिव कार्की

‘राजा आऊ देश बचाऊ’ यो नारा विगतदेखि नै सुनिदै आएको हो । विशेषत राजतन्त्रको विस्थापन पछिका केही समय राजतन्त्रको पुनर्स्थापना भन्नेहरु आम सर्वसधारण कमै थिए । राजा चाहनेहरुको स्वर झिनो र नगण्य सुनिन्थ्यो तर गणतन्त्र स्थापनाका १२ वर्ष पुगेपछि देशमा बलियो र शक्तिशाली भनिने कम्युनिष्ट पार्टीको दुई तिहाई लगभग नजिकको सरकार बनेपछि राजा चाहिने र राजतन्त्रको माग गर्दै ज्ञानेन्द्रको वरिपरी झुम्मिने प्रदर्शन गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्दि भएको देखिन्छ । २०६२/०६३ को आन्दोलन र २०६५ जेष्ठ १५ गते संसद्को घोषणा पश्चात गद्दीमा बस्ने अनुमति नदिएपछि राजा ज्ञानेन्द्र औपचरिक रुपमा राजाको स्थानबाट ओर्लेर केवल पूर्वराजाको हैसियतमा मात्रै छन् ।

देशको संविधानले राजा नचिनेपछि ज्ञानेन्द्र पूर्वराजाको परिचय लिएर रहनु बाध्यता हो । तर देशको सांस्कृतिक संरचना मनोविज्ञान र मान्छेहरुको निरन्तर आस्था रहेको कारण राजा यदाकदा छन् भन्ने झल्को र आभाष मिल्छ । पूर्वराजालाई गद्दीसिन राजा झैँ मान सम्मान दिने अझ देश बचाउन उनै राजा गुहार्ने मान्छेहरुको भीड बाक्लिन लागेको देख्दा देश अस्वभाविक राजनीतिक मोडमा पो छ कि जस्तो लाग्छ । केही पार्टीहरुको संबैधानिक राजतन्त्र सहितको राजनीतिक आदर्श सैद्दान्तिक मान्यता अझैसम्म कायम छ तथापि उनीहरुको राजनीतिक संगठन मजबूत छैन र त्यहाँ मान्छेहरुको सघनता छैन जति राजाको सार्वजनिक उपस्थितिमा स्वतस्फूर्त देखिन्छ । राजा भए सबथोक हुन्छ राजा नभएर धेरैथोक बिग्रेको आम सर्वसाधारण मान्छेको विश्वास भएको कारण नै राजा उपस्थित हुने ठाउँमा आम सर्वसधारण झुम्मिन लागेका छन् ।

यद्दपि राजा चाहिन्छ भन्नेहरुलाई राजतन्त्रको खराबी र राजा हुँदा पनि देशले फड्को मार्न नसकेको तथ्य थाहा छैन बुझ्नेले बुझ पचाएर नै राजतन्त्रको वकालत गरेको देखिन्छ । कसैलाई धमिलो पानीमा माछा मार्न राजतन्त्र चाहिएको छ भने कसैलाई राजा भएमा नै देशको अभिभावक बन्छन सर्वमान्य संस्था हुन्छ पुर्खाको विराशत थामिन्छ भन्ने लागेको हुनसक्छ । राजतन्त्र माग्नेहरु राजतन्त्र पुनर्स्थापना गर्नुपर्छ भन्नेहरूमा मतैएक्यता देखिन्न । सक्रिय राजतन्त्र कि संबैधानिक राजतन्त्र वा सांस्कृतिक राजतन्त्र या राजतन्त्र सहितको गणतन्त्र ? अन्योल दुविदा र अन्यमनस्क भावका साथ मान्छेहरु राजतन्त्रको माग गरिरहेका छन् । राजतन्त्र ल्याउने बाटो, राजतन्त्र ल्याउन सघाउने देश विदेश या आफ्नै बुतामा राजतन्त्रको पुनर्वहाली यो कुराको अस्पष्टता टड्कारो देखिन्छ ।

कसैलाई गणतन्त्रको वितृष्णा र प्रतिशोधको लागि राजतन्त्र चाहिएको छ भने कसैलाई राजतन्त्र एकादेसको राजकुमार र बादलपारीबाट आएर गर्ने चमत्कार र देखाउने चमक धमकको विश्वास र उडन्ते आस्थाको कारण राजतन्त्र चाहिएको छ । सबैलाई थाहा छ पूर्वराजा आफैलाई पनि यो ज्ञान छ राजतन्त्र पुनर्स्थापना हुँदैमा जादुको छडीले केही गर्ने होइन र त्यो कसैसँग छैन पनि । राजकाजको परिपाठ कति असजिलो र जोखिमपूर्ण हुन्छ आजको जवानमा त्यो ज्ञानेन्द्रले नबुझेका पक्कै छैनन् । गणतन्त्रले आफ्नो अनुहारमा कालो पोतेर राजनीतिक पार्टीहरुले साशकीय क्षमता गुमाएको झन् दुई तिहाइको सरकारले आफ्नो धोति समाल्न नसकेको वाक्कलाग्दो स्थिति बिरक्तलाग्दो सरकारीस्तरबाट हुने कामले जनतामा नैराश्यताको बिजारोपण बेतोडसँग भएकोले नै मान्छेहरू राजाको मलम र शितलता केवल प्रतिसोध साँध्न भएपनि आवश्यक छ भन्नेहरुको बोलवाला बढेको छ ।

पार्टीहरुको बदला प्रतिशोध र घृणाको रुपमा देश विकल्पको खोजीमा तल्लिन एउटा जमात तयार छ । एक पार्टी असफल भए अर्को पार्टी छ र यसले गर्छ भन्ने आशा र विश्वास पनि टुटेकोले राजाप्रति मान्छेहरुको आकर्षण बढेको छ । नयाँ र वैकल्पिक भनिएका पार्टीहरु साझा र विवेकशीलमा पुरानै पार्टीहरुको झैँ फूट र अनेकता देखिएको कारण आकर्षण उस्तो रहेको पाइन्न यद्दपी यी दुई पार्टी पुनः एकिकरणको प्रयासमा छन् भन्ने बुझिएको छ । तर आगामी चुनावमा नै हस्तक्षेपकारी उपस्थिति बलियो शक्ति बनेर नेपाली राजनीतिमा हावी बनिहाल्छ भनेर कल्पना गर्नु राजनीतिको कोर्ष र जटिलता नबुझ्नु हो । परम्परागत शक्ति र सामर्थ्य असंगठित भएपनि पूर्वराजासँगै छ । तर ज्ञानेन्द्रले जनतालाई प्रत्यक्ष आफ्नो समर्थन गर्न र आफ्नो पक्षमा लाग्न आजसम्म आव्हान गरेका छैनन् तर राज्यसँगको नागरिक असन्तुष्टिलाई उनले पनि अनेकन बहना र भ्रमणको निहुँमा आफ्नो पक्षमा देखाउने त्यस्तै बक्तब्य दिने जस्ता कुरा तर घुमाउरो तरिकाले गर्ने नीति अबलम्बन गरेका छन् ।

बिभिन्न समयमा ज्ञानेन्द्रको वक्तव्य र असन्तुष्टिलाई दलहरुले खिज्याउने, चेतावनी दिने र राजतन्त्र ब्युताउने दिवा सपना भनेर आलोचना गर्दै आएका छन् । प्रत्यक्ष म देशको लागि लड़छु पुनः राजा बन्छु मलाई साथ दिनुहोस् भन्ने हिम्मत र बुता प्रदर्शन गरेको दिन राज्यमा बितण्डा नहोला भन्न सकिन्न । नेपाल सरकारले राजालाई गर्ने हर्कत र राजा समर्थकले गर्ने प्रदर्शन र देश बचाउन राजा आऊ भन्ने जस्ता नारा र कुरामा आम सर्वसाधारण आकर्षित बनेर भिडन्त र व्यबस्थाको बिरुद्द नै उत्कर्ष रुप लिने सम्भावना छ तर त्यसको लागि पूर्वराजाले जोखिम उठाउनु पर्छ । संगठित शक्ति बनाएर नैतिक, भौतिक, आर्थिक सांस्कृतिक लगायत यावत क्षेत्रमा लगानी गरेर खतरा मोल्ने हिम्मत र साहस जुटाउनुपर्ने देखिन्छ । हजारौं वर्षदेखिको राजतन्त्रवाला मनोविज्ञान र दुई सय पचास वर्ष हाराहारीको शाह वंशीय शासनको प्रभाव जे भए पनि राजकुल र राजाको छोरा पो हुन् त भन्ने धारणा जिवितै छ जागृत बन्दै गरेको फैलिएको पाउन सकिन्छ । तर यो प्रयाप्त र सहज छैन । नेपालमा प्राय परिवर्तन आफ्नो बुता र ह्याउले मात्रै सम्भव भएको छैन । चाहे त्यो २००७, २०१७, २०४६, माओवादी जनयुद्द २००५२ देखि २०६२/०६३ होस या सो पछिका अनेकन परिवर्तन र आन्दोलन जुन आफ्नै ल्याकतले सम्पन्न नभएको तथ्य घाम जत्तिकै छर्लंग छ ।

ब्यबस्था परिवर्तनको लागि जस्तोसुकै घोषित र अघोषित जाली तमसुक र सम्झौता गर्ने परिपाटीको शृंखला रहेको कारण बिदेशीको परे डस्थल र स्वार्थको खेल मैदान नेपाली राजनीति, राजनीतिक पार्टी, तिनका नेता र बिभिन्न एजेण्ट बनेर अरुकै लागि काम गरेर आफ्नो स्वार्थको जाउलो उमाल्नेहरू भए, रहे, बने । फलस्वरुप कसैको काँध कसैको बैशाखी त कसैको आडभरोषा बिना देशमा पात पनि हल्लिन सक्दैन भन्ने मान्यता विकशित गरियो । दक्षिणको हस्तक्षेपको बिरोध गरेर उत्तरको हस्तक्षेप आमन्त्रण गरियो भने उत्तरको बिरोध गरेर दक्षिणलाई खुशी पारियो जुन नितान्त देश हित प्रतिकुलका विषय र संवेदनशील अवस्थाहरु हुन् । अहिले राजतन्त्र फर्काउने कुरामा पनि उत्तर र दक्षिणको लगानी आशिर्वाद आडभरोशा र मुख ताकेर मान्छेहरु राजतन्त्र पुनर्वहाली गर्छु भन्ने पार्टी र अभियन्ताहरु बसेका छन् । यो विगतकै गल्ति दोहोरयौने र आफ्नै बुतामा कहिल्यै केही गर्न सकिन्न भन्नेहरुको हीनता र लघुताभाष हो ।

यहाँ स्मरणीय छ संधै अरुले उचालेर अरुकै आदेश निर्देश पालन गरेर देशप्रतिकुल निर्णय र अवस्था सिर्जना गरेकै कारण कुनैपनि सरकार र पार्टी या राजाहरुकै पालामा पनि आफूले भने जस्तो गर्न नसकिएको यथार्थ सम्झनुपर्ने र बुझ्नुपर्ने हुन्छ । देशमा कदाचित राजा पुनर्स्थापना अरुले नै गरिदिने हो भने राजा पनि केवल रबर स्ट्याम्प मात्रै बन्नेछन । सबै काम र तजबिजी जसले स्थापना गरि दिएको हो । उसैको हुनेछ तसर्थ पूर्वराजाले गम्भीर भएर सोच्नु र निर्णय लिनुपर्छ ।

लोकतन्त्रका नेताहरु जतिसुकै असफल भएपनि लोकतान्त्रिक पद्दति र परिवेशमा होमिएको देशलाई राजाको कुनै पनि किसिमको हुकुम र फर्मान सह्य बन्ने छैन । बिदेशीको गोटी बनेर राजतन्त्र पुनर्स्थापनाको सपना देख्नु भन्दा आज जे छ जुन स्थिति छ सोही नै प्रिय र सहज बन्नेछ पूर्वराजाहरुको लागि । आफ्नो बुता र औकातले गरिने जनताको निर्णयलाई कुनैपनि संबिधान र कानुनको छेकबारले रोक्न सक्दैन तर अर्काको भरर्थेगले प्राप्त हुने अवसर अवसानमा पुग्न कति पनि बेर लाग्दैन । पूर्वराजाको गुनासो पनि सुनिन्छ दलहरुले धोका दिए । २०६३/०६३ को आन्दोलन मत्थर पार्न २०६३ बैशाख ११ गते राजासँग दलहरुले गुप्त सम्झौता गरेका थिए तर सम्झौता विपरित गएर राजतन्त्र उन्मुलन गर्न पुगे । ज्ञानेन्द्रको कुरा त्यतिबेला नाजायज देखिन्न जतिबेला उनैले संसद पुनर्स्थापना गरिदिनुपर्ने अनि प्रधानमन्त्रीले सपथ समेत ज्ञानेन्द्रकै हातबाट खानुले राजा राख्ने सहमतिकै कारण यो सम्भव भएको थियो भनेर तर्क र शंका गर्न सकिन्छ ।

पहिलो संबिधानसभाले फालेको राजतन्त्र ब्युताउने प्रयास र आफुलाई धोका भएको कुरा ज्ञानेन्द्रले त्यतिबेला जोडतोडले उठाउँदा राजतन्त्र पुनर्वहालीको राजनीतिक आधार र तर्क मिल्थ्यो किनभने पहिलो संबिधानसभा संबिधान बनाउन नसकेर बिगठन हुँदा यसको राजतन्त्र फ्याल्ने वैधानिकता समेत गुमायो भनेर तर्क र प्रतिबाद गर्ने राजनीतिकआधार भेट्न सकिन्थ्यो यो कुरा न तत्कालिन राप्रपाले हेक्का राख्यो न राजाले नै तसर्थ एउटा राजनीतिक आधार र मौका गुमेको रुपमा मैंले बुझेको छु । तर पनि ब्यबस्थाप्रति चरम वितृष्णा बढ्दा जनताको आक्रोश र असन्तुष्टीको पारो बढेर बेलायतमा झैँ मृत्युदण्ड दिएका राजाका छोरा चाल्स द्वितीयलाई सन् १६६० मा पुनर्स्थापना गरिएको इतिहास दोहोरियो या फ्रान्समा झैं १८१४मा पुन बैधरुपमा राजसत्ता आए झैँ आयो गयो भने आठौं आश्चर्य हुनेवाला छैन ।

राजसंस्था पुनर्स्थापनाको घटना चाहे इरानको होस् या अफगानिस्तान यी स्मरण गर्नुपर्ने र विश्लेषण गर्नुपर्ने घटनाका प्रतिनिधि प्रसंग हुन् । प्रजातन्त्र, लोकतन्त्र र आधुनिक गणतन्त्रमा २२३८ वर्षसम्म बसेको हजारौं बर्षको इतिहास भएको राजसंस्थालाई संसदका सदस्यहरुले हात उठाएको भरमा बहिर्गमन गर्नु कति न्यायोचित कति लोकतान्त्रिक ? के आजको युगमा जनतालाई नै राजतन्त्र राख्ने या फाल्ने निर्णय प्रक्रिया जनमत संग्रह मार्फत गर्न सकिन्थ्यो ? प्रश्नहरु बाँकी र जीवित नै छन् तसर्थ पनि राजाप्रति आस्था राख्ने र गणतन्त्रले अनुहारमा कालो पोत्ने अटुट शृंखलाले वाक्क दिक्क भएका जनताको आक्रोश राजतन्त्रको समर्थनमा विष्फोट भयोभने आजको व्यवस्थाले धान्न र नियन्त्रण गर्न सक्छ र ? भलै त्यो कति टिक्छ रहन्छ या पुनः राजाको विस्थापन या राजा नै काटिने दिन आउँछ त्यो आगतको फैसला तर कुनै न कुनै रुपमा राजाको पुनरोदयलाई अहिल्यै र यस्तै अवस्थामा नकार्न सकिन्न । दलहरु नसुध्रे र पूर्वराजाले भोलि जस्तोसुकै जोखिम बहन गर्ने हिम्मत गरे भने देशमा उलटपुलटको सम्भावना नकार्न सकिन्न ?

यद्यपी, अबको नेपाली राजनीतिक यात्रा पस्चगमन होइन हुनुहुँदैन । रैतीलाई राजाका प्रजा भएर रहन भन्दा नेताका जनता भएर नेतालाई तह लगाउन सजिलो हुन्छ । राजा आवधिक हुँदैनन् तर नेतालाई आवधिक चुनावमार्फत औकातमा राख्न, औकात देखाउन सजिलो हुन्छ । विश्वका राजतन्त्रात्मक मुलुकमा रहेका राजाहरू मध्ये कुन देशको जस्तो हुने निर्क्योल गरेर पूर्वराजाले घोषणा जारी गरे रैतीलाई समर्थन र बिरोधमा तर्क गर्न सजिलो पर्थ्यो । आगे रोजाई प्रजाको ।

प्रतिक्रिया दिनुहोस्