काभ्रेमा आजबाट ढुङ्गा उत्खनन गर्न रोक • Image Khabar Image Khabar


काभ्रेमा आजबाट ढुङ्गा उत्खनन गर्न रोक


Imagekhabar
४ मंसिर २०७७, बिहीबार ०९:३२

काभ्रेमा आजबाट ढुङ्गा उत्खनन गर्न रोक

काभ्रे । पहाड तथा खोलाबाट ढुङ्गा उत्खनन कार्यमा आजदेखि रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले हालसम्म विभिन्न स्थानीय तहमा वर्षौँदेखि क्रसर उद्योगद्वारा सञ्चालन हुँदै आएका ढुङ्गा खानीमा थप उत्खननमा रोक लगाएको हो ।

जिल्लामा हालसम्म ३१ क्रसर उद्योगका करिब तीन दर्जन रोडा–ढुङ्गा खानी सञ्चालनमा आएका छन् ।

कार्यालयले आजदेखि जिल्लामा सञ्चालन हुँदै आएका सबै खानी बन्द गर्न निर्देशनसहित सबै स्थानीय तह तथा प्रहरीलाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार केही दिनको अनुगमनपछि मापदण्ड पुगेकालाई सञ्चालन गर्न दिइनेछ ।

“अहिले सबै खानीमा थप उत्खनन बन्द गराएका हौँ, मापदण्ड पुगेका र राष्ट्रिय प्राथमिकताका आयोजनामा सामग्री आपूर्ति गर्नेलाई अनुगमनपछि मात्रै सञ्चालन अनुमति दिइनेछ”, पोखरेलले भन्नुभयो ।

हप्ताअघि गृहमन्त्रालयले मापदण्ड विपरीत र बिना दर्ता सञ्चालित क्रसर उद्योगलाई बन्द गर्न र नदी दोहन नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो ।

यस्तै, मन्त्रालयलले आ–आफ्ना जिल्लाभित्र ढुङ्गा–गिट्टी तथा बालुवाजन्य कति उद्योग सञ्चालनमा रहेको, मापदण्डअनुसार भए–नभएको, सरकारलाई राजस्व बुझाए–नबुझाएको र दर्ता भए–नभएको यकिन विवरण सात दिनभित्र पेश गर्न ७७ वटै जिल्लाका प्रजिअलाई निर्देशन दिएको थियो ।

साथै, मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड १५ दिनभित्र परिमार्जन गरी पेश गर्नसमेत निर्देशन दिएको छ ।

काभ्रेपलाञ्चोकमा भने यसअघि जिल्ला समन्वय समितिको समन्वयमा गर्दै आइएको अनुगमनले अवैधानिक (मापदण्डविपरित)रूपमा रोडा–ढुङ्गा खानी सञ्चालन गर्दै आएको देखाएको छ ।

जिल्लामा रहेका क्रसर उद्योगद्वारा सञ्चालित सबै रोडा–ढुङ्गा खानी अवैधानिक रहेको जिससका सदस्य एवं प्रवक्ता प्रेम लामाले बताउनुभयो ।

उहाँका अनुसार अनुगमनले अवैधानिक देखाएका उद्योगलाई कारवाही गर्न सङ्घ, प्रदेश तथा स्थानीय तहद्वारा कुनै ठोस नीति आएको थिएन ।

यसअघि अनुगमनका क्रममा जिल्लामा रहेका क्रसर तथा रोडा–ढुङ्गा खानीको वैधानिकता नदेखिएपछि जिल्लास्तरीय अनुगमन टोलीले तीन दिनभित्र वैधानिक कागजात जिल्ला ल्याउन र मापदण्ड पुर्याउन भन्दै ‘सचेत’ गराउँथ्यो ।

जिससको अनुगमन प्रतिवेदनमा सबै क्रसर मापदण्डविपरीत रहेको तथा सम्झौताबेगर नदीबाट बालुवा उत्खनन गरिएकोसमेत उल्लेख गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्