
काठमाडौं । अमेरिकाले इराकमा रहेका आफ्ना सेनाको संख्या घटाउने घोषणा गरेलगत्तै राजधानी बगदादस्थित विभिन्न दूतावासमा आक्रमण भएको छ ।
इराकी सुरक्षा अधिकारीहरुका अनुसार राजधानी बगदादमा रहेका अमेरिकीलगायत विभिन्न दूतावासको क्षेत्रमा रकेट हमला भएको छ ।
इरान समर्थित विद्रोही लडाकूहरुले आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै चार वटा रकेट प्रहार गरेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा २५ सय मात्र अमेरिकी सेना राख्ने निर्णय गरेलगत्तै दूतावासहरुमा हमला भएको अधिकारीहरुले जनाएका छन् ।
इराकी अधिकारीहरुले आक्रमणको पुष्टि गरेपनि त्यसबाट भएको क्षतिको विवरण भने खुलाएका छैनन् । तर आक्रमणमा दुई जना इराकी सुरक्षा अधिकारी घाइते भएको बताइएको छ ।
यता श्रृंखलावद्ध रुपमा दूतावासमा लक्षित गरी हमला भएको भन्दै अमेरिकाले बगदादस्थित आफ्नो नियोग बन्द गर्ने चेतावनी दिएको छ ।
गत अक्टोबरको दोस्रो साता इरान समर्थित मिलिसिय समूहले अमेरिकी सेना स्वदेश फिर्ता गर्ने सर्तमा अस्थायी युद्धविरामको घोषणा गरेका थिए ।
अमेरिकाले सन् २००३ मा इराकमाथि आक्रमण गर्ने अन्तर्राष्ट्रिय गठबन्धनको नेतृत्व गरेसँगै तत्कालीन नेता सद्दाम हुसेनको सत्ताच्यूूत भएको थियो ।
यस्तै सन् २०१४ मा अमेरिकाले इराकमा आफ्ना सेनाको तैनाथी बढाएको थियो ।
गत अक्टोबरदेखि विद्रोहीले इराकमा रहेका कुटनीतिक नियोग तथा दूताबास र सुरक्षाकर्मीलाई लक्षित गरी दर्जनौ रकेट आक्रमण तथा बम प्रहार भएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्