१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


मृत्यु ‘घिरौंला टिप्दाको’ झगडामा, माग सहिद घोषणा गर्नुपर्ने !


0
Shares

काठमाडौँ । आफ्नै बारीको घिरौंला टिप्न छिमेकीको बारीको प्रयोग, यही विषयमा बालबालिकाबीच भएको सामान्य विवादमा दुवै परिवारका बुज्रुग पनि मिसिए ।

विवाद यतिविघ्न उग्र भयो कि दुवै पक्षबीच गत असोज २१ मा भएको झडपमा ६० वर्षीय महेन्द्र रामको ज्यानै गयो ।

अन्य १२ जना घाइते भए । सर्लाहीको रामनगर–७ सिसौटका महेन्द्रको मृत्युको कारण घिरौंला टिप्न छिमेकीको बारी प्रयोग गर्दा निम्तिएको विवाद मात्रै रहेको जानकार बताउँछन् ।

तर नेपाली कांग्रेस सर्लाहीले भने यो मामिलालाई ‘राजनीतिक प्रतिशोध’ साधेका रूपमा लियो । महेन्द्रलाई सहिद घोषणा र १० लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरिरहेको छ ।

यही अडानका कारण शव एक महिनादेखि अस्पतालमै छ । परिवारका सदस्यलाई शव बुझ्न प्रहरीले तारन्तार सम्झाए पनि पार्टीकै अडानका कारण उनको अन्त्येष्टि हुन सकेको छैन ।

दुईपक्षीय झडपमा गम्भीर घाइते भएका महेन्द्रलाई उपचारका लागि मलंगवास्थित सरकारी अस्पतालमा लगिएको थियो ।

त्यहाँबाट वीरगन्जको न्युरो अस्पताल रेफर गरियो । असोज २२ मा उनको उपचारकै क्रममा मृत्यु भयो ।

सर्लाही प्रहरीले झडपमा ढुंगा हानाहान गरेका तीन जनालाई घटनाकै दिन पक्राउ गरेको थियो ।

प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बालबालिकाबीच भएको झगडामा मृतक परिवारलाई उचालेर राजनीति गर्न खोजिएको बताउनुभयो ।

‘झडपमा संलग्नलाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘राजनीतीकरण गरेर घटनालाई अर्कै मोड दिन खोजिएको छ ।

हामी गहिरिएर अनुसन्धान गरिरहेका छौं । यो कुनै राजनीतिक झडप होइन ।’ तर कांग्रेसले मागमा अडान राख्दै आइतबार पनि सर्लाहीमा प्रदर्शन गरेको छ ।

प्रदर्शनमा सहभागी प्रदेश सांसद वीरेन्द्र सिंहले झडपमा सत्तापक्ष नेकपाका कार्यकर्ताद्वारा महेन्द्र मारिएकाले सहिद घोषणा र क्षतिपूर्तिको माग गरिएको दाबी गर्नुभयो ।

‘जानाजान उनको हत्या गरिएको छ,’ उहाँले भन्नुभयो, ‘सहिद घोषणा र १० लाख क्षतिपूर्ति नदिएसम्म आन्दोलन रोकिन्न ।’

कांग्रेस कार्यकर्ता रहेका महेन्द्र र त्यस दिनको झडपमा मुछिएका नेकपाका विनोद महरा पक्षबीच भने दुई वर्षअघिदेखि नै विवाद थियो ।

सामान्य निहुँमा पनि उनीहरू कुटपिटमै उत्रिन्थे । कतिपयले घिरौंला टिप्दा अर्काको बारी प्रयोग गरेको त्यस दिनको निहुँ पनि पुरानै शत्रुतापूर्ण सम्बन्धकै तिक्तताका रूपमा बुझेका छन् ।

डीआईजी सिंहले भन्नुभयो, ‘हाम्रो अनुसन्धानले कांग्रेसले किटानी गरेका केही व्यक्तिहरूको घटनामा संलग्नता देखिँदैन ।’

आफ्नै क्षेत्रका कार्यकर्ता महेन्द्रको मृत्युको घटनापछि कांग्रेस नेता अमरेशकुमार सिंह असोज २७ मा काठमाडौंबाट सर्लाही झर्नुभयो ।

उहाँकै अगुवाइमा भोलिपल्ट जिल्ला प्रहरी कार्यालय घेराउ गरियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गर्‍यो ।

सिंहको अगुवाइमा गएका कांग्रेस कार्यकर्ताले प्रहरीमा किटानी जाहेरी दिए । जाहेरीमा झडपमा संलग्न नै नरहेका भनिएका नेकपाका केही स्थानीय नेताको नामसमेत थियो ।

सर्लाही प्रहरीले उक्त जाहेरी लिन इन्कार गर्‍यो । नेता सिंहले असोज २९ मा पत्रकार सम्मेलन गरेर आफूलाई सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले ‘गालीगलौज र दुर्व्यवहार’ गरेको आरोप लगाउनुभयो ।

कांग्रेसले नेकपाका ११ जनाको नाम किटानी गरेर जिल्ला प्रहरीमा मुद्दा दर्ता गराउन खोज्यो तर प्रहरीले मानेन ।

कांग्रेस प्रहरीमाथि नै दबाब दिन प्रदर्शनमै उत्रिँदा भएको झडपमा चार दर्जनभन्दा बढी घाइते भएका थिए ।

परिवारले शव उठाउन नमानेपछि एक महिनादेखि महेन्द्रको शव नारायणी अस्पतालको शवगृहमा छ ।

महेन्द्रकी श्रीमती दुलारीदेवीले आफू गरिब भएको र पहुँचवाला नरहेकाले सत्तापक्षका नेताले पतिको हत्या गरेको भन्दै क्षतिपूर्ति पाउनुपर्ने माग गर्नुभयो ।

‘हामीलाई क्षतिपूर्ति चाहिन्छ, हाम्रा घरका मुखियालाई उनीहरूले मारिदिए, अब हामीलाई न्याय चाहिएको छ,’ उहाँले भन्नुभयो ।

यही बीचमा दसैं परेकाले कांग्रेसले आन्दोलनको कार्यक्रम स्थगित त गरेको थियो तर परिवारलाई शव बुझ्न पनि दिएन ।

कांग्रेस सर्लाहीले आइतबार प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएको छ ।

सर्लाही प्रहरी प्रवक्ता डीएसपी मदन कुँवरले घटनाको अनुसन्धान र फरार व्यक्तिको खोजी भइरहेको बताउनुभयो ।

कांग्रेसबाट यस क्षेत्रको संघीय सांसदका रूपमा निर्वाचित अमरेशकुमार सिंह र नेकपाका शिवपुजन रायले भने दलीय स्वार्थमा जनताको झगडालाई राजनीति रङ दिने गरेको प्रहरीकै दाबी छ ।

सिंह र राय राजनीतिमा एक–अर्काका प्रतिद्वन्द्वी पनि हुन् । संविधानसभाको पहिलो निर्वाचनमा तत्कालीन मधेसी जनअधिकार फोरमबाट उम्मेदवार बनेका रायले कांग्रेसका सिंह र तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई हराएका थिए । कान्तिपुर दैनिकबाट