
बाग्लुङ । बाग्लुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा जाने सडक कालोपत्रे गरेको एक महिनामै उक्किएको छ ।
दुई करोड रुपैयाँको लागतमा गुङ्दी खोला–कुस्मिसेरा सडकखण्डको १ हजार ६ सय ६० मिटर लम्बाइ तथा ३.७५ मिटर चौडाइ कालोपत्रे गरेको सडक एक महिनामै उक्किएको हो ।
केन्द्र सरकारको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकद्वारा विनियोजित एक करोड र जैमिनी नगरपालिकाको एक करोड लागतमा कालोपत्रे गरेको सडक एक महिनामै उक्किन थालेको जैमिनी नगरपालिकाले जनाएको छ ।
पानीको उचित व्यवस्थापन नगरी कालोपत्रे गर्दा कमजोरी भएको नगरपालिकाका प्राविधिक सुमनराज रेग्मीले बताए । कालोपत्रे गरेको सडकमध्ये २ सय ५८ मिटर सडक कमसल भएको प्रविधिकको भनाइ छ ।
कालोपत्रेमा गुणस्तर कम भएको प्राविधिकको प्रतिवेदनअनुसार २ सय ५८ मिटर सडकको रकम निर्माण कम्पनीलाई भुक्तानी नगरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले जानकारी दिए ।
गुणस्तरअनुसार काम नगर्ने निर्माण कम्पनीलाई कारवाही स्वरुप १५ लाख रकम घटाएर भुक्तानी गरिएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्