
काठमाडौं, कात्तिक २२ । कोरोना महामारीका कारण रोकिएको बाहिरी चक्रपथ विस्तारको दोस्रो चरणको काम पुनः सुरु भएको छ ।
कलंकीदेखि चाबहिलसम्म १२ किलोमिटर सडकखन्ड विस्तारको लागि त्यस क्षेत्रमा पर्ने घर र अन्य संरचना हटाइ ‘साइट क्लियरेन्स’को काम अन्तिम चरणमा पुगेको सडक विभागले जनाएको छ ।
पहिलो चरणमा कोटेश्वरदेखि कंलकीसम्म चक्रपथ विस्तारको काम गरेको चिनियाँ पक्षले यसपटक दोस्रो चरणको कामको साइट क्लियरेन्सका लागि भने सडक विभागलाई आग्रह गरेको थियो ।
सो आग्रहबमोजिम विभागले सडक विस्तारका लागि ढल, बिजुलीको पोल सार्ने र रुख कटानको ९७ प्रतिशत काम सम्पन्न गरिसकेको जनाएको छ ।
विभागले सडक विस्तारका लागि नयाँ बसपार्कमा रहेको आकाशेपुलसमेत भत्काइसकेको छ भने स्वयम्भू चैत्य हटाउनुपर्ने भएपनि साँस्कृतिक सम्पदा भएको कारण सोको जिम्मा काठमाडौं महानगरपालिकालाई दिएको छ ।
१२ किलोमिटर सडकखन्डमा रहेको करिब ३०० मिटरमा मात्रै समस्या समाधान गर्न बाँकी रहेको विभागका महानिर्देशक केशव शर्माले जानकारी दिनुभयो ।
सानोभर्याङमा रहेको हाइटेन्सन लाइन हटाउन विद्युत् प्राधिकरणले ठेक्का व्यवस्थापन गरिएको छ भने पुस मसान्तसम्ममा हाल रहेका पोलहरु हटाइ मोनो पोलहरु राख्न प्राधिकरणमार्फत् ठेक्का व्यवस्थापन गरिसकेको छ ।
सबै तयारी भइसकेकोले सडक विस्तारका लागि अब चिनियाँ पक्षलाई बोलाइ भौतिक प्रगतिको अवलोकन गर्न लगाउने र निर्माण सुरुकोे तयारी गरिएको महानिर्देशक शर्माले जानकारी दिनुभयो ।
यता, महाराजगन्जमा रहेको २० घरको मुआब्जा दिन बाँकी रहेकोले सो क्षेत्रमा भने सडक विस्तारमा अवरोध आएको छ ।
विभागले चिनियाँ पक्षले भनेबमोजिम नै तयारी पूरा भइसकेको जानकारी चिनियाँ पक्षलाई दिइसकेको छ । चिनियाँ पक्षले पनि ठेक्का गरी कम्पनी छनोट गरेर नेपाल पठाउँदैछ ।
तर सडकको डिजाइन के–कस्तो बनाउने भन्ने विषयमा भने विभागलाई हालसम्म कुनै जानकारी छैन ।
यसअघि, चीनको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो चरणमा १० किलोमिटर कोटेश्वरदेखि कलंकीसम्म सडक विस्तार भइसकेको छ । तर, यो सडकखन्डमा विभिन्न प्राविधिक त्रुटिहरु भने व्यावहारिकरुपमै देखिएका छन् ।
६२ मिटर चौडा रहने सडकमा चीनले ५० मिटरमा सडक विस्तार गर्नेछ । बीचमा डिभाइडरसहितको ४ लेन र दायाँ–बायाँ २/२ मिटरको सर्भिस लेन गरी ८ लेनको सडक निर्माण हुनेछ ।
सडक विभागले साइट क्लियरेन्सको काम अन्तिम तयारी भइसकेको बताएपनि चिनियाँ कम्पनी कहिले आउने र काम सुरु गर्ने भन्ने टुंगो लागेको छैन ।
प्रतिक्रिया दिनुहोस्