
काठमाडौं । कोभिड महामारी भन्दै विभिन्न कानुन लगाउने सरकारले जनताको उपचार गर्ने दायित्वबाट हात निकालेको छ ।
विपन्न जनताको उपचार हुने सरकारी अस्पतालमा पनि निजी अस्पतालको बराबर शुल्क सार्वजनिक गर्ने सरकारले कोभिड महामारीबाट अहिलेसम्म कतिको मृत्यु भयो भन्ने हिसाब समेत यकिन गर्न सकेको छैन ।
सरकारका दुई निकायले राखेको कोरोना संक्रमणबाट मृत्यु हुनेको तथ्यांकमा ठूलो अन्तर देखिएको छ । स्वास्थ्य मन्त्रालय र सेनाको तथ्यांकमा चार सयभन्दा बढीको फरक देखिएपछि सूक्ष्म अध्ययन गरेर वास्तविक तथ्यांक सार्वजनिक गर्न समिति बनाएको थियो । तर, तीन सातासम्म समितिले पनि संख्या यकिन गर्न सकेको छैन, जब कि मृतकको संख्या हरेक दिन बढेको छ ।
सेनाको तथ्यांकअनुसार १७ कात्तिकसम्म संक्रमणबाट एक हजार चार सयको निधन भइसकेको छ । तर, त्यही दिन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सार्वजनिक गरेको तथ्यांकमा मृतकको संख्या नौ सय ८४ मात्रै छ । फरक–फरक तथ्यांक सार्वजनिक भएपछि दुई निकायबीच विवाद भएको सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए ।
‘
स्वास्थ्य मन्त्रालय र हाम्रो तथ्यांकमा मृतकको संख्या फरक परेको छ,’ सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘यो अन्योल समाधान गर्न समन्वयात्मक छलफल भइरहेको छ ।’
हिसाब मिलाएर मृतकको यकिन तथ्यांक सार्वजनिक गर्न गत २ कात्तिकमा स्वास्थ्य मन्त्रालयकी सहसचिव शैलजा रेग्मीको नेतृत्वमा कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का प्रतिनिधि डा. अरुण न्यौपाने र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डे सदस्य रहेको समिति गठन गरिएको थियो ।
मन्त्रालयले तीन दिनभित्रै अध्ययन सकेर वास्तविक तथ्यांक सार्वजनिक गर्र्न समितिलाई भनेको थियो । तर, अहिलेसम्म रिपोर्ट आएको छैन । ‘दुवैतिरको तथ्यांक निक्कै सूक्ष्म ढंगले अध्ययन गर्नुपर्ने भएकाले समय लाग्यो ।
दुई–तीन दिनभित्रै हामी तथ्यांक सच्याएर सार्वजनिक गर्छौँ,’ सहसचिव रेग्मीले भनिन् । पछिल्लो समय मृतकको संख्याबारे सेना केही बोलेको छैन भने मन्त्रालयको तथ्यांकअनुसार शुक्रबारसम्म एक हजार ७० जनाको मृत्यु भएको छ ।
सहसचिव रेग्मीले स्वास्थ्य मन्त्रालयसँग होम आइसोलेसनमा मृत्यु भएकाहरूको रेकर्ड नभएकाले पनि तथ्यांकमा फरक परेको हुन सक्ने बताइन् । नयाँ पत्रिका दैनिकबाट










प्रतिक्रिया दिनुहोस्