दसैं सकिएसँगैं कामको खोजीमा भारत जानेको भीड • Image Khabar Image Khabar


दसैं सकिएसँगैं कामको खोजीमा भारत जानेको भीड


दुर्गा उपाध्याय
२१ कार्तिक २०७७, शुक्रबार ०९:३७

दसैं सकिएसँगैं कामको खोजीमा भारत जानेको भीड

कञ्चनपुर । लकडाउन घोषणा भएसँगै औपचारिक रुपमा बन्द रहेको पश्चिमी सीमानाकामा दशैं सकिएसँगै चहलपहल बढेको छ ।

सरकारले भारतीय नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएपनि भारतीय आधार कार्ड, रासन कार्ड र रोजगारीका लागि सिफारिस लिएर सीमानाकामा पुगेका नेपालीहरु निर्वाध रुपमा भारत गइरहेका छन् ।

पछिल्लो समय भारतीय पक्षलेसमेत आफ्ना नागरिकलाई नेपाल प्रवेश गर्न दिनुपर्ने माग राखेको छ ।

लकडाउनका बेला अनेक दुःखकष्ट खेप्दै घर फर्किनुभएका दीपक कुमार आउजी कोरोना महामारीकै बीच फेरि रोजगारीका लागि भारत जाँदै हुनुहुन्छ ।

निधारमा रातो टिका लगाएर परिवारसँग बिदा भइ हिँड्नु भएका आउजी सात महिनाअघि भारतमा कोरोनाको संक्रमण बढेकै कारण घर फर्किनु भएको थियो ।

तर परिवार पाल्ने विकल्प नभएपछि उहाँ निराश हुँदै रोजगारीको खोजीमा भारत हिँडेको बताउनुहुन्छ ।

दिपक मात्रै होइन उहाँसँगै सीमाक्षेत्रमा भारत जान लामबद्ध भएका अरु धेरै युवाहरुको पीडा पनि उस्तै छ ।

बैतडीको शिवनाथ गाउँपालिकाका राजु ओड पनि लकडाउनकै बेला घर फर्किनु भएको हो । उहाँ जस्तै भारत जान सीमाक्षेत्रमा लामबद्ध भएकाहरुमध्ये धेरै लकडाउनकै बेला घर फर्किएका छन् ।

कोरोना त्रासका बीच सीमावर्ती क्षेत्रमा ६५ दिनसम्म क्वारेन्टिनमा बिताएका उनीहरु स्वदेशमा रोजगारीको व्यवस्था हुन नसक्दा भारतकै भर पर्नु परेको दुखेसो पोख्छन् ।

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकामा कामको खोजीमा भारत पस्ने नेपालीहरुको भीड केही दिनयता निकै बढेको छ ।

दसैं सकिएसँगै पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफन्टा नाकाबाट दैनिक पन्ध्र सयदेखि दुई हजारको संख्यामा नेपालीहरु रोजगारीका लागि भारत गइरहेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार दसैं यता दुवै नाकाबाट ११ हजार एक सय ७७ जना नेपालीहरु रोजगारीका लागि भारत पसेका छन् भने चार हजार ३ सय ५६ जना नेपाली भारतबाट नेपाल फर्किएका छन् ।

उता रासन कार्ड तथा आधार कार्डका आधारमा नेपालीहरुलाई जान दिइएपनि लकडाउन यता भारतीयहरु भने नेपाल प्रवेश गर्न पाएका छैनन् ।

जसले गर्दा भारतीय पक्षलेसमेत आफ्ना नागरिकलाई नेपाल प्रवेश गर्न दिनुपर्ने माग राखेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको भनाइ छ ।

विगतका वर्षहरुमा दशैंका लागि घर फर्किएका नेपालीहरु तिहारपछि खेतीपातीको काम सकेर फर्किने गर्दथे ।

तर यस पटक कोरोनाका कारण फागुन चैत र वैशाख जेठमै घर फर्किएकाहरु दशैं लगत्तै कामको खोजीमा भारत जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्