काठमाडौं । सत्तारुढ दल नेकपाभित्र आन्तरिक संकट गहिरिँदै गएपछि राष्ट्रपति विद्या भण्डारी फेरि सक्रिय भएकी छिन् । पछिल्लोपटक मंगलबार उपाध्यक्ष वामदेव गौतमलाई बोलाएर राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउने काममा विगतमा जस्तै भूमिका खेल्न आग्रह गरेकी छिन् ।
‘भेटमा राष्ट्रपतिज्यूले पार्टी एकताप्रति चिन्ता जनाउँदै पार्टी एकता नटुटोस्, एकता जोगाउन तपाईंले पहिले पनि भूमिका खेल्नुभो, अब पनि तपाईंबाट त्यस्तै भूमिकाको अपेक्षा छ भन्ने सुझाब दिनुभएको छ,’ गौतमलाई उद्धृत गर्दै उनका प्रेस संयोजक विश्वमणि सुवेदीले नयाँ पत्रिकासँग भने, ‘म पार्टी एकता जोगाउनै लागिरहेको छु । प्रचण्ड, माधव, झलनाथ कमरेड हामी सबै एकता जोगाउने, विधि र पद्धति स्थापित गर्ने कुरामै लागेका छौँ ।’
सत्तारुढ पार्टीको एकता दुर्घटनातर्फ उन्मुख छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीले तत्काल बैठकमा नबस्ने, गुटगत आधारमा बैठक बसे निर्णय नमान्ने र बहुमतका आधारमा कुनै निर्णय भए झन् ठूलो ‘एक्सन’ लिने स्पष्ट पारिसकेका छन् । त्यस्तै, ओलीको कार्यशैली बेठीक भएको भन्दै प्रचण्ड–नेपाल समूहले अर्को बैठकको तयारी गर्दै छ । यद्यपि, मंगलबार ओली र प्रचण्डबीच टेलिफोनमा संवाद भएको छ र बुधबार भेटघाट तय भएको छ ।
आइतबार आफूसहित सचिवालयका ६ सदस्यको बसाइमा प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी विभाजनको प्रस्ताव गरेको जानकारी दिएका थिए । त्यस्तै, महासचिव विष्णु पौडेलले पार्टीको अस्तित्व खतरामा परेको बताएसँगै नेकपाको एकता दुर्घटनाउन्मुख भएको प्रस्ट भएको छ ।
स्थायी कमिटीको निर्णय कार्यान्वयनको अवस्था, मन्त्रिपरिषद् हेरफेर, कर्णाली प्रदेशमा देखिएको तनाव र भारतीय गुप्तचर प्रमुख ‘रअ’ प्रमुखको नेपाल भ्रमणका विषय छलफल गर्न सचिवालय बैठक बोलाउन प्रचण्डले गरेको माग पनि प्रधानमन्त्री ओलीले अस्वीकार गरेका छन् । बरु, उनी राजनीतिक र संवैधानिक निर्णयबारे परामर्शमा जुटेका छन् ।
उता प्रचण्ड–नेपाल समूह केही दिनमा सचिवालय बैठक बोलाउने पक्षमा उभिएको छ । यद्यपि, त्यसअगाडि प्रचण्डलाई प्रधानमन्त्री ओलीसँग संवाद गर्न नेताहरूको सुझाब छ । प्रचण्ड–नेपालनिकट नेताहरूले बताएअनुसार प्रधानमन्त्री ओलीले माने पनि र नमाने पनि निकट भविष्यमै सचिवालय बैठकको तयारी भएको छ । प्रधानमन्त्री ओली बैठकमा सहभागी नभए बहुमतले निर्णय गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ ।
दुवै पक्षको आ–आफ्नै तयारी र रणनीतिबीच विवाद व्यवस्थापनका लागि पनि सबै तहका नेताबीच आन्तरिक संवाद चलिरहेको नेताहरूको भनाइ छ । संसदीय दलका उपनेता सुवास नेम्वाङले अहिलेको संकट व्यवस्थापनका लागि दुवै अध्यक्ष विभिन्न तहका नेता र टेलिफोनमार्फत संवादमै रहेको बताए । ‘उहाँहरू विभिन्न साथीहरू र टेलिफोनमार्फत सम्पर्कमै हुनुहुन्छ, विभिन्न तहका साथीहरू लागिरहनुभएको छ, कोसिस भइरहेको छ, हेरौँ,’ नेम्वाङले भने । यद्यपि, उनले पछिल्लो संकट समाधानबारे नयाँ कुनै विकल्पमा प्रगति नभएको बताए ।
उता, नेकपा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नेपालसँग मंगलबार छुट्टाछुट्टै भेट गरेका नेकपा स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले नेताहरूले अन्तिमसम्म एकताका लागि प्रयत्न गर्ने बताएको सुनाए । ‘उहाँहरूले पार्टी एकता बचाउन अन्तिमसम्म पहल गर्छौँ भन्नुभएको छ,’ पौडेलले भने ।
उता प्रधानमन्त्रीनिवास बालुवाटारमा पनि राजनीतिक भेट भएका छन् । प्रधानमन्त्री ओलीले आफूनिकट र केही पूर्वमाओवादी समूहका नेतासँग छलफल गरेका छन् । वरिष्ठ नेता नेपालले सोमबार प्रदीप नेपालसँग भेटघाट गरेका थिए । सोमबार गौतमनिवासमा प्रचण्डसहित सचिवालयका नेताहरू बसेका थिए ।
तर, वरिष्ठ नेता नेपालनिकट स्थायी कमिटी सदस्य गोकर्ण विष्टले पार्टी विभाजन रोक्न पछिल्ला संवाद अझै पर्याप्त नभएकाले त्यसलाई सघन बनाउनुपर्ने र दोस्रो पुस्ताले प्रभावकारी ढंगले दबाब र हस्तक्षेप गर्नुपर्ने आवश्यकता औँल्याए ।नयाँ पत्रिका दैनिकबाट










प्रतिक्रिया दिनुहोस्