६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


भारतमा तीन महिनापछि सबैभन्दा थोरै संक्रमित


0
Shares

india corona

नयाँदिल्ली, कात्तिक ११ । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको संख्या पछिल्लो तीन महिनामा मंगलबार सबैभन्दा थोरै देखिएका छन् ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो तीन महिनाभित्रमा मंगलबार ४० हजारभन्दा थोरै संक्रमित भेटिएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घन्टामा भारतमा ३६ हजार ४७० जना संक्रमित भएको जनाएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या ७९ लाख ४६ हजार ४२९ पुगेको छ ।

त्यसैगरी, भारतमा कोरोनाका कारण अहिलेसम्म एक लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ । तीमध्ये ४८८ जनाको पछिल्लो २४ घन्टामा मृत्यु भएको हो ।

कोरोनाभाइरसबाट संक्रमित भएरपनि अहिले संक्रमणमुक्त भइसकेकाहरुको संख्या भारतमा ७२ लाख एक हजार ७० रहेको अधिकारीहरुले जनाएका छन् ।

सरकारी निकायले भारतमा कोरोनाभाइरसबाट मुक्त भएकाको अनुपात ९०.६२ प्रतिशत रहेको पनि जानकारी दिएका छन् ।

त्यसैगरी, कोरोनाभाइरसबाट संक्रमित भएकाहरुमध्ये १.५० प्रतिशत मानिसकोमात्रै मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरसबाट अहिलेपनि संक्रमित अवस्थामै रहेकाको संख्या पनि घटेर सात लाखभन्दा कम भएको छ । अधिकारीहरुकाअनुसार कुल छ लाख २५ हजार ८५७ जना अहिलेपनि संक्रमित अवस्थामै रहेका छन् ।

भारतमा केही हप्ताअगाडिसम्म कोरोनाभाइरसबाट संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढ्दै गएकोमा पछिल्लो केही हप्ताअगाडिदेखि दैनिकरुपमा घट्दै गएको छ ।