पाकिस्तानमा विस्फोट, सातजनाको मृत्यु, ११२ घाइते • Image Khabar Image Khabar


पाकिस्तानमा विस्फोट, सातजनाको मृत्यु, ११२ घाइते


रासस/एपी
११ कार्तिक २०७७, मंगलवार १४:५९

पाकिस्तानमा विस्फोट, सातजनाको मृत्यु, ११२ घाइते

पेशावर, कात्तिक ११ । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मंगलबार कम्तीमा सातजनाको मृत्यु भएको छ ।

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार मंगलबार बिहान भएको घटनामा परी अरु ११२ जना घाइते भएका छन् ।

स्थानीय जमिया जुबैरिया मदरसामा इस्लाम धर्मकाबारेमा विशेष कक्षा सञ्चालन भइरहेका बेलामा विस्फोटन भएको हो ।

विस्फोटनमा परी मृत्यु भएका र घाइते भएका सबै विद्यार्थी रहेको जनाइएको छ ।

घटनास्थलमा शंकास्पद झोला भेटिएको र घटनाकाबारेमा पूर्ण अनुसन्धान सुरु गरिसकिएको प्रहरी अधिकृत वाक्वार अजिमले जानकारी दिनुभयो ।

विस्फोटनका कारण कक्षा सञ्चालन भइरहेको भवन र हल क्षतिग्रस्त भएको भिडियो पाकिस्तानी सञ्चारमाध्यमले देखाएका छन् । दृश्यमा घटनास्थल रगताम्य भएको पनि देखिएको जनाइएको छ ।

विस्फोटनका लागि पाँच किलो विस्फोटक पदार्थ प्रयोग गरेको पाइएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ । अस्पतालका अधिकारीहरुले मृतकको संख्या अझ बढ्नसक्ने चिन्ता व्यक्त गरेका छन् ।

घटनामा परी केही शिक्षक र कर्मचारीसमेत घाइते भएको पाइएको छ । घाइते भएका विद्यार्थी अधिकांश २५ वर्षको हाराहारीका रहेका छन् । घाइते भएकामध्ये केही विद्यार्थी अफगानीसमेत रहेको जनाइएको छ ।

घटनालगत्तै अहिले अस्पतालमा घाइतेका आफन्त र शुभेच्छुकहरुको भिड लागेको छ । उनीहरुले घाइतेहरुको अवस्थाकाबारेमा जानकारी माग्ने गरेको र भेट्न खोजेको चिकित्कसहरुले बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्