२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


मेक्सिकोका कुख्यात लागूऔषध तस्कर ‘एल च्यापो’लाई जन्मकैद


0
Shares

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित एक अदालतले मेक्सिकोका कुख्यात लागूऔषध तस्कर ह्वाकिन ‘एल च्यापो’ गुजम्यानलाई जन्मकैदका साथै अतिरिक्त ३० बर्षे जेल सजाय सुनाएको छ ।

६२ वर्षीय गुजम्यानलाई १० वटा अभियोगमा दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनाइएको हो ।

उनले पाएको अतिरिक्त ३० वर्षको जेल सजाय हतियारको अवैध प्रयोगका लागि हो । अदालतले उनलाई साढे १२ अर्ब डलरभन्दा बढी जरिवाना गर्ने निर्णयसमेत गरेको छ ।

गत फेब्रुअरीमा न्यूयोर्कस्थित अदालतले हत्याको षड्यन्त्र र कयौं टन कोकिन, हिरोइन र गाँजा तस्करीको आरोपमा उनलाई दोषी ठहर गरेको थियो ।

अमेरिकाको कानुनअनुसार गिरफ्तारमा आउनुअघि गुजम्यान मेक्सिकोको जेलमा थिए । सन् २०१५ मा उनले जेलमा सुरुङ बनाएर भागेका थिए ।

तर, २०१६ मा उनलाई पुनः गिरफ्तार गरेर २०१७ मा अमेरिकामा सुपुर्दगी गरिएको थियो ।

उनी सिनाओला कार्टेलका नामले परिचित कुख्यात लागूऔषध तस्करी गिरोहका नाइके भएको बताइएको छ ।

उनलाई मेक्सिकोमा आतंक मच्चाउने एउटा हिंस्रक अपराधी समूहका नेताको रुपमा पनि लिइन्छ ।

सिनालोआ नामक उक्त सञ्जाल अमेरिकामा लागूऔषध तस्करी गर्ने सबभन्दा ठूलो समूह हो ।

अदालतले सजाय घोषणा गर्नुअघि गुजम्यानले आफूलाई अमेरिकी कारागारमा चौबीसै घण्टा यातना दिने गरिएको बताए ।

उनले आफूमाथि अन्यायपूर्ण मुद्दा चलाइएको दाबी पनि गरे ।

अदालतको निर्णयसँगै अब गुजम्यानलाई अत्यधिक सुरक्षासहित कोलोराडोस्थित कारागारमा राखिने अधिकारीहरुले बताएका छन् ।(एजेन्सी)