
काठमाडौं, जेठ ३० । सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्थाको विषयलाई लिएर संसदमा सत्तारुढ र विपक्षी दलबीच जुहारी चलेको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुखमध्ये एकजनाले राजीनामा दिनुपर्ने माग गरेपनि सत्तारुढ दलले राजीनामा दिनुपर्ने कुनै संवैधानिक व्यवस्था नभएको जिकिर गर्यो ।
विशेष समयमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले संविधानको धारा ९१ को २ अनुसार सभामुख र उपसभामुख फरक–फरक दलको हुुनुपर्ने प्रावधानको कार्यान्वयन गर्न माग गरे ।
तर, खाँणको मागप्रति नियमापत्ति जनाउँदै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का सांसद खगराज अधिकारीले सभामुख कृष्णबहादुर महरा र उपसभामुख शिवमाया तुम्बाहाम्फेले दलको सदस्यबाट राजीनामा दिइसकेको भन्दै संविधानको प्रतिकूल नहुने जिकिर गरे ।
विशेष बैठकमा सांसदहरु योगेश भट्टराई, तेजुलाल चौधरी, प्रेम सुवाल, दुर्गा पौडेल, राजेन्द्र गौतम, एकवाल मिया, रुही नाँच, प्रभु साहलगायतले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्