दशैंमा सीता एयरको सहुलियत उडान • Image Khabar Image Khabar


दशैंमा सीता एयरको सहुलियत उडान


रासस
६ कार्तिक २०७७, बिहीबार १४:५०

दशैंमा सीता एयरको सहुलियत उडान

खलङ्गा, कात्तिक ६ । चाडपर्वको समयमा महँगो भाडा तिरेर हवाई यात्रा गर्न बाध्य जुम्ली नागरिकले सीता एयरले सहुलियत उडान भरेसँगै राहतको महसुस गर्न थालेका छन् ।

सीता एयरले यही कात्तिक १ देखि सुर्खेत–जुम्ला–नेपालगञ्ज सहुलियत उडान गरिरहेको छ ।

कोभिड–१९ ले जनजीवन प्रभावित भइरहेका बेला सहुलियत उडान हुन थालेपछि उनीहरु निकै खुशी छन् ।

पहिले रु. पाँच हजार ५०० मा तोकिएको भाडा अहिले घटाएर रु चार हजार १०० पुर्‍याइएको छ ।

पहिलेको तुलनामा अहिले रु. एक हजार ४०० कममा उडान भइरहेको छ । ‘गो कर्णाली टुर एण्ड ट्राभल्स’का सञ्चालक ललित महतका अनुसार सहुलियत उडानले अब निरन्तरता पाउने छ ।

कर्णाली पर्यटन उत्थान समितिका संयोजकसमेत रहेका महतले दशैंँमा जिल्ला बाहिर रहेका र जुम्लाबाट घर जाने तयारीमा रहेका नागरिकका लागि सहुलियत उडान शुरु भएको बताउनुभयो ।

“कोरोनाका कारण सबै क्षेत्र प्रभावित छ । समयमै सस्तो भाडादरमा आवतजावत गर्न सकियोस् भन्ने उद्धेश्यले सहुलियत उडान गरिएको हो ।” उहाँले भन्नुभयो ।

सहुलियत उडानका लागि सीता एयर र गो कर्णालीबीच सम्झौता भएको छ । अन्य एयरलाइन्सले नेपालगञ्ज–जुम्ला वा सुर्खेत–जुम्ला हवाई भाडा रु. पाँच हजार ५०० लिइरहेका छन् ।

सहुलियत उडान शुरु भएपछि झण्डै २०० बढीले यात्रा गरेका छन् । अहिले नेपालगञ्जका लागि दैनिक उडान भइरहेको छ । यस्तै बिहीबार र शुक्रबार सुर्खेत–जुम्लाको उडान तालिका सार्वजनिक गरिएको छ ।

सहुलियत उडानले जनतालाई थोरै भए पनि राहत भएको र यसलाई निरन्तरता दिने प्रयास भइरहेको सीता एयरले जनाएको छ ।

सीता एयरका नेपालगञ्ज क्षेत्रीय निर्देशक मनोज भारतीले अहिलेजस्तै सेवा अन्य समयमा समेत दिने जहाज र गो कर्णालीबीच समझदारी भएको बताउनुभयो ।

अप्ठयारो परिस्थितिमा हवाई भाडामा सहुलियत दिनु निकै सकारात्मक कदम भएको अधिकारकर्मीको भनाइ छ ।

उपभोक्ता महासङ्घ नेपालका उपमहासचिव विष्णुप्रसाद तिमिल्सेनाले सहुलियत दरमा हवाई उडानका लागि आफूहरुले लामो समयदेखि आवज उठाउँदै आइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्