लोककथाको बाघ आउन लागेको हो त नेकपाभित्र? • Image Khabar Image Khabar


लोककथाको बाघ आउन लागेको हो त नेकपाभित्र?


Imagekhabar
६ कार्तिक २०७७, बिहीबार १२:४८

लोककथाको बाघ आउन लागेको हो त नेकपाभित्र?

-हरिविनोद अधिकारी

धेरै काण्ड, धेरै समस्या र धेरै गलत कामहरुको पुञ्ज बनेको तर सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को सरकार मदन्मत्त भएर निर्वाध अगाडि बढिरहेको छ । यसमा त्यो दलका अन्य नेताहरु पनि किंकर्तव्यविमूढ भएका देखिन्छन् । सरकार संविधानको धज्जी उडाउँछ, दलका अन्य नेताहरुको अस्तित्वमाथि कुनै वास्ता गर्दैन अनि विपक्षीहरुको कुनै वास्ता गर्दैन । तै पनि ती सबै अन्यमनस्क भावले सरकारप्रति त्वं शरणम् देखिन्छन् । कर्णालीको प्रदेश सरकारको अविश्वास,विश्वास अनि अविश्वासको घटनाले भने नयाँ समीकरण र नयाँ आँटको सम्भावना देखिएको छ ।
नेपालमा कोभिड -१९को संक्रमण प्रकोप समुदायस्तरमा पुगेको कुरा काठमाडौँ उपत्यकामा अनियन्त्रितरुपमा कोरोना विषाणुको विस्तारले देखाएको छ भन्ने सरुवारोगका विशेषज्ञहरुको छ । करिब डेढ लाख जतिको संख्या संक्रमणको देखिएको छ भने विसेक हुनेको संख्या पनि एक लाख जत्ति देखिएको छ । करिब ८००जतिको दुःखद निधन भइसकेको अवस्था छ । निधन हुनेको संख्यामा विशेषज्ञहरुको केही बढेको हुन सक्ने अनुमान पनि छ तर सरकारको काम अबचाहिँ संक्रमित संख्या र निधनको दैनिक प्रतिवेदन दिनेमा सीमित भएको छ । सरकार कुम्भकर्ण निद्रामा भन्दा सुतेर होइन, बिउँझिएर पनि सुतेको बहानामा छ । जसले जति कराए पनि , विरोध गरे पनि सरकार आफ्नो जनविरोधी निर्णयहरु गर्दै अगाडि बढिरहेको छ । स्वास्थ्य सेवाको कमीले संक्रमितहरु बाटा बाटैमा मर्न थालेका छन् छटपटाएर भन्ने समाचारहरु आइरहेका छन् ।

जनताले यस्तो संक्रमणको महामारी भएको बेलामा तर सरकारको दल नेकपाबाट कुनै गम्भीर चासो देखाएको सुन्न र देख्न पाएका छैनन् किनभने सरकारको दल नेकपा आफ्नै कृत्रिम तथा प्राकृतिक विवादमा अल्झिरहेको छ । कहिले सचिवालयमा अल्पमत, वहुमत, कहिले स्थायी समितिमा प्रधानमन्त्रीको राजीनामा या एक व्यक्ति एक पद जस्ता जनताका लागि खासै वास्ता नभएका तर जनतालाई झुक्याउने कुराहरु भई नै रहेका थिए । किन पनि कृत्रिम समस्या या जनतालाई झुक्याउने कुरा भनिएको हो भने त्यसको परिणामचाहिँ जनताका लागि होइन, बरु हात्ती आयो हात्ती आयो फुस्सा भएर समाप्त भएको देखिन्छ ।

कहिले वामदेव गौतमलाई प्रधानमन्त्री, उपप्रधानमन्त्री या हारेकालाई सदनमा ल्याउन हुने या नहुने भन्ने कुरामा समय बरबाद गरियो एकातिर भने लकडाउनमा स्वास्थ्य समस्यालाई कसरी स्थायीरुपमा समाधान गर्ने भन्ने बारेमा कुनै सोचै राखिएन । बरु भनियो-बेसार खाऊँ, अदुवा खाउँ या नेपालमा खानपिन र संस्कारका कारणले कोरोनाले चियाउनै सक्दैन । माथिल्लो तहले नै त्यस्तो भनेर कोरोनालाई नेपालमा आउने बाटो ने छेकेको जस्तो कुरामा अलमलियो सरकार ।

सरकार आफ्ना गतिमा छ, सरकारको दल सरकारले टेरेन भनेर कराइरहेको छ तर सरकार आफ्ना गतिमा कसैलाई नटेरेर अगाडि बढेकोमा कसैले कुनै दबाब पनि दिन सकेका छैनन् । दलको सचिवालय , स्थायी समिति र केन्द्रीय समिति सबै देखाउने गहनाका रुपमा स्थापित रहेछन् । नेकपामा अहिले पनि सर्वशक्तिमान व्यक्ति प्रधानमन्त्री तथा पार्टीका नंबर एक अध्यक्ष केपी शर्मा ओलीनै देखिनु भएको छ । चाहे सरकार सञ्चालनको एकलौटी निर्णयमा होस् या मन्त्री पदको बाँडफाँटको पजनीमा ।

संसदीय प्रजातन्त्रमा प्रधानमन्त्री सर्वशक्तिमान नै हुन्छन् भने किन रोइलो त अरुको ? अनि प्रधानमन्त्रीले दलको वहुमत सदस्यहरुको चाहना या निर्णयअनुसार काम नगरेको भए किन कार्बाही हुन सकेन ? यसको जबाफ सायद न त दुई नंबरका अध्यक्ष पुष्पकमल दाहालसँग छ, न त एमाले भन्ने विघटित दललाई आजको सरकार बनाउने सम्म बनाउने शक्ति सञ्चय गराउने संगठन गरेर यो अवस्था बनाउने माधव नेपालजी तथा झलनाथजीसँग छ । कोही पनि केही जान्दैनन् ।

पहिलेको माओवादी दललाई पुरानो एमालेको पोल्टामा लगेर विसर्जन गरेको भनेर दोषारोपण गर्ने क्रान्तिकारीहरु पनि अहिले अलमल र अन्यौलग्रस्त छन् । संविधान देखाउने दाँत भएको छ ।
भन्थे पहिले पनि , असली कम्युनिस्टका लागि संसदीय व्यवस्था भनेको प्रयोगका लागि मात्र हो । अर्थात् खसीको टाउको देखाउन राखेर कुुकुरको मासु बेच्नेसँग तुलना गरिन्थ्यो । हो रहेछ । संविधानमा के छ भन्दा पनि कसरी संविधानका धारालाई प्रयोग गर्ने भन्ने कुरामा सरकार तल्लिन छ ।
एउटा कथा छ-वनमा गाई हेर्न गएको गोठालाको कथा-गाउँले झुठो बोल्ने गोठालाको , जसले गाउँलेलाई बाघ आयो भनेर चिच्च्याएर बोलाउँछ । गाउँले आउँछन् लौरा , हतियार लिएर, बन्दुक लिएर तर आफूचाहिँ हाँसेर बसेको हुन्छ त्यो गोठालो किनभने त्यहाँ बाघ आएको हुन्थेन । यसो गर्नुमा उसको रमाइलो पनि थियो, अनि परेको बेलामा गाउँले कत्तिको आउँदा रहेछन् भनेर परीक्षा पनि लिएको थियो होला । यही क्रममा नेकपामा धेरै पटक विवादरुपी बाघ आयो भनेर जनतालाई यो महामारीमा पनि झुक्याइयो तर केही पनि भएको रहेनछ ।

यसैक्रममा नयाँ मन्त्रीहरुको नियुक्ति भयो, पूर्व अर्थमन्त्री युवराज खतिवडाको अमेरिकाका लागि राजदूतमा मनोनयन पनि भयो जुन अहिले संसदको सुनुवाइ समितिमा रहेको छ । केही पनि भएन, केही पनि हुँदैन किनभने अहिले नेकपा भनेको पनि प्रधानमन्त्र ओली नै हो , सर्बेसर्वा नेता भनेको ओलीजी नै हो , अरुले छौँ है हामी भन्ने मात्र देखिएको छ । त्यसैले बाघ आयो, बाघ आयो भनेर प्रचण्ड, माधव नेपाल र झलनाथ खनालहरुले भनिरहनु हुँदा गोठालो हाँसेर बसेको जस्तै भएको देखिन्छ ।

तर अहिले कर्णाली प्रदेशको प्रादेशिक सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीविरुद्ध नेकपाकै संसदीय दलभित्रै आएको अविश्वास प्रस्तावले कुनै निष्कर्ष दिन सकेको छैन । एकातिर प्रधानमन्त्रीले प्रदेश सरकारले केन्द्रीय सरकारको अधीनजस्तै सम्झेर काम गर्नुपर्ने नयाँ परिभाषा दिएको देखिन्छ भने अविश्वासका लागि संख्यामा समीकरण परिवर्तन भएर सरकार जोगिने अवस्था देखिएको छ। तर नेकपाकै राजनीतिक विश्लेषक र निर्णायक पात्रहरुचाहिँ असली खेल अब सुरु हुन लागेको बताउन थालेका छन् ।

एमाले र माओाबादीको रुपमा जरासन्धझैँ दुई भागमा मूलतः बाँडिएको, तर नेकपा भएपछि अझ अरु गुट उपगुटमा बाँडिएको नेकपामा नयाँ शक्ति संघर्ष बढ्ने सम्भावना देखिएको छ । प्रधानमन्त्रीले पहिलेझैँ यो पनि आफैँ पानीको फोकाझैँ फुटेर जाने ठानेको तर शक्तिको प्रयोग गर्न चाहने पात्रहरुका लागि यो प्रसङ्गले मौका दिएको ठानिन्छ ।

एकातिर कोरोना महाव्याधिमा सरकार चुकेको, जनतामा वितृष्णा बढेको अनि प्रधानमन्त्रीले बारम्बार बिरालाले मुसो खेलाएझै खेलाएकोले बाँकी नेकपाका नेताहरुमा आफ्नो परिचयको समस्या परेको देखिन्छ । एकथरी पुराना माओबादीहरु झन मुर्मुरिएका छन् भने एकथरी माओबादीहरु ओलीको सियाँलमा रमाउन थालेको देखिन्छ । यसैबिच दसैँ पनि आएकाले पर्यवेक्षकहरु भन्छन-दशैं पनि साँच्चै बाघ पो आउने हो कि गोठालाको वनमा । कथामा त साँच्चै आएको थियो बाघ अनि त्यो गोठालाले चिच्च्याएर बाघ आयो भनेर भनेको पनि हो, तर कोही पनि यसकारणले आएनन् कि त्यो झुठो बोल्छ ।

के लोककथाको विम्वले नेपाली राजनीतिमा प्रवेश गरेको हो त ? के साँच्चै प्रधानमन्त्रीलाई अब अल्प संख्यामा पुर्‍याएर सरकार र अध्यक्ष पदबाट विस्थापन गर्न सक्छन् त बाँकी निर्णायक नेताहरुले ? समयभन्दा ठुलो त कोही पनि भएन अतीतमा पनि, वर्तमानमा पनि र भविष्यमा पनि नहोलान् कोही पनि । कस्ता कस्ता निरंकुश शासक पनि संसारको इतिहासबाट हराएका छन् । हाम्रै देशमा पनि राजतन्त्र इतिहासको अध्ययनमात्र भएको यथार्थ यथावत् छ ।

प्रतिक्रिया दिनुहोस्