१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


भारतले प्रक्षेपण गर्ने भनेको चन्द्रयान–२ प्राविधिक कारणले रोकियो


0
Shares

काठमाडौं । भारतले प्रक्षेपण गर्ने भनेको चन्द्रयान–२ प्राविधिक कारणले रोकिएको छ ।

आन्ध्र प्रदेशबाट भारतीय समयअनुसार आज बिहान २ बजेर ५१ मिनेटमा प्रक्षेपण गर्ने भनिएको चन्द्रयानमा अन्तिम समयमा प्राविधिक गडबढी आएका कारण रोकिएको हो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले ट्वीट गर्दै चन्द्रयान प्रक्षेपणको नयाँ मिति चाँडै घोषणा गर्ने जनाएको छ ।

चन्द्रयान प्रक्षेपणका लागि भारतीय राष्ट्रपति रामनाथ कोविन्द पनि श्रीहरिकोटामा पुगेका थिए ।

इसरोको अभियान सफल भएमा चन्द्रमा यान अवतरण गराउने भारत चौथो मुलुक बन्ने छ । यसअघि अमेरिका, चीन र पूर्वसोभियत संघले चन्द्रमामा यान अवतरण गराइसकेका छन् ।

भारतले पठाउने लागेको चन्द्रयान अहिलेसम्म अन्य मुलुकले पठाएको अन्तरिक्ष यान नपुगेको ठाउँमा पुग्ने छ ।

निकै नै जोखिमपूर्ण रहेको सतहसम्म प्रक्षेपण गर्ने तयारीमा रहेको यो चन्द्रयानको सफल परीक्षणले विश्वको अन्तरिक्ष इतिहासमा नयाँ आयाम कायम हुने विश्वास भारतले लिएको छ ।

यो अभियानका लागि भारतको सबैभन्दा शक्तिशाली ६ सय ४० टनको रकेट प्रयोगमा ल्याइनेछ ।

जसका लागि १ नासाका वैज्ञानिकसहित १३ भारतीय वैज्ञानिक रहने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भारतीय चन्द्रयानको मुख्य उद्देश्य चन्द्रमाको सतहमा पानीको खोजी गर्नु हो ।

प्रक्षेपण गर्न लागिएको चन्द्रयान दुई महिनापछि ३ लाख ८४ हजार किलोमिटरको यात्रा पूरा गरेर चन्द्रसतहमा पुग्ने  विश्वास भारतको रहँदै आएको छ ।(एजेन्सी)