Logo २६ भाद्र २०८३, शुक्रबार | Fri Sep 11 2026


सांसदलाई दसैँ भत्ता : नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा पनि भ्रष्टाचार


39
Shares

काठमाडौं । सांसदहरूले दसैँ भत्ताका नाममा रकम लिनु नैतिक प्रश्न मात्र होइन, कानुनी रूपमा भ्रष्टाचार साबित हुने देखिएको छ ।

संघीय वा प्रादेशिक कुनै पनि संसद्का सदस्यको तलब भत्ता सार्वभौम संसद् आफैँले निर्धारण गर्दछ । तर, कानुनी रूपमा व्यवस्था नै नभएको दसैँ भत्ता सांसदहरूले बुझेका छन् ।

सांसदले बनाएको कानुनमा नियमित तलबबाहेक, घरबहाल खर्च, खानेपानी तथा विद्युत् खर्च, सञ्चार खर्च, सचिवलाई तलब, बैठक भत्ता, भ्रमण भत्ताको व्यवस्था छ । तर, दसैँ खर्चसम्बन्धी कुनै प्रावधान नै छैन ।

‘अहिले सांसद र जनप्रतिनिधिहरूले दसैँ खर्च लिइरहेका छन्, यो आर्थिक अनियमितता त हुँदै हो, साथै नीतिगत भ्रष्टाचार पनि हो । सांसदहरूले नै बनाएको कानुनमा उनीहरूले कुन–कुन कुरामा कति सुविधा पाउने भन्ने स्पष्ट छ, जसमा दसैँं खर्च दिने व्यवस्था छैन’ पूर्वसचिव तथा अध्यक्ष ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष खेमराज रेग्मीले नयाँ पत्रिकासँग भने ।

संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ ले सांसदहरूको तलब तथा सेवा–सुविधाहरू निर्धारण गर्छ । सांसदहरूको सेवा–सुविधा बढाउनुपरेमा यो कानुनलाई संशोधन गर्नुपर्छ । तर, कानुन नै संशोधन नगरी सांसदहरू दसैँ भत्ता बुझेका छन् ।नयाँ पत्रिका दैनिकबाट

Skip This