डा. गोविन्द केसीप्रति गम्भीर हुन आयोगको आग्रह • Image Khabar Image Khabar


डा. गोविन्द केसीप्रति गम्भीर हुन आयोगको आग्रह


Imagekhabar
२१ आश्विन २०७७, बुधबार १८:३६

डा. गोविन्द केसीप्रति गम्भीर हुन आयोगको आग्रह

काठमाडौं, असोज २१ । राष्ट्रिय मानव अधिकार आयोगले डा. गोविन्द केसीसँग यसअघि सरकारले गरेका सम्झौताहरु कार्यान्वयनको स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

भदौ २९ गतेदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेको प्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले बुधबार जारी गरेको विज्ञप्तिमा आयोगको अनुगमनमा डा. केसीको स्वास्थ्य अवस्थाबारे सरकारले चासोका साथ नहेरेको पाइएको पनि उल्लेख गरिएको छ ।

आयोगले केसीसँग विगतमा गरिएका सम्झौताको पालना गर्न र उहाँको स्वास्थ्य तथा उचित मागहरुप्रति समयमै संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ ।

विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकाले त्यसतर्फ समयमै सार्थक पहल गरी जीवन रक्षा गर्न सरकारसँग आग्रह गरिएको छ ।

आयोगले आफ्ना मागहरु पूरा गराउन आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न डा. केसीलाई पनि आग्रह गरेको छ ।

डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको बागमती प्रदेश कार्यालयको टोलीले बुधबार महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगी अनुगमन गरेको छ ।

डा. केसीको अनसन २४ औं गर्न लाग्दा सरकारले अनशन तोड्न आग्रह गर्नेबाहेक वार्ता टोलीसमेत गठन गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्