Logo ६ असार २०८३, शनिबार | Sun Jun 21 2026


भरतपुर कारागारमा उच्च सतर्कता, कारागारभित्र २०० बढी दीर्घरोगी


0
Shares

रत्ननगर । कोरोना भाइरसलाई मध्यनजर राख्दै भरतपुर कारागारमा उच्च सतर्कता अपनाइएको छ ।

क्षमताभन्दा दोब्बर बढी कैदी तथा थुनुवा रहेको र यहाँ कोरोना भाइरसको सङ्क्रमण हुन नदिन उच्च सतर्कता अपनाएको हो ।

चैत ११ गते सरकारले लकडाउन घोषणा गरेसँगै कारागारले कैदी तथा थुनुवाका आफन्तलाई भेटघाट बन्द गरेको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले कैदी तथा थुनुवाका लागि आफन्तले ल्याएको सर–सामान पनि फिर्ता पठाइएको बताउनुभयो ।

“आफन्तले ल्याएको पैसालाई स्यानिटाइज गरी पुर्‍याउने व्यवस्था मिलाएका छौँ”, उहाँले भन्नुभयो, “कैदी तथा थुनुवाबीच सामाजिक दूरी कायम गराउन गाह्रो छ । बाहिराबाटै चेन ब्रेक गर्न सावधानी मिलाएका छौँ ।”

प्रमुख काफ्लेका अनुसार अन्य कुनै रोगको सङ्क्रमण हुन नदिन माछा, मासु खान पनि बन्द गरिएको छ ।

कारागारभित्रकालाई हालसम्म कोरोना देखिएको छैन । कैदी तथा थुनुवाको खानपानामा ध्यान दिइएकाले जटिल स्वास्थ्य समस्या नदेखिएको उहाँको भनाइ छ ।

नयाँ आउने बन्दीलाई छुट्टै ब्लकमा दुई हप्ता अलग राख्ने व्यवस्था मिलाइएको बताउनुभयो ।

उहाँका अनुसार सम्भावित जोखिमलाई हेरेर आइसोलेसन ब्लकसमेत बनाउने तयारी छ । करिब ३० श्ययाको आइसोलेसनकक्ष बनाउनेबारे छलफल भइरहेको बताउनुभयो ।

“अहिलेसम्म भित्र कोरोना सङ्क्रमण भेटिएको छैन र हामी उच्च सतर्क छौँ”, उहाँले भन्नुभयो, “बेलाबखत केहीको पिसीआर परीक्षण गराएका छौँ, सङ्क्रमण देखिहाले फैलिन नदिन आवश्यक पूर्वतयारी गरिसकेका छौँ ।”

कारागार कार्यालय चितवनमा २०० बढी कैदीबन्दीले नियमित औषधि लिने गरेका छन् । नियमित औषधि लिनेको सङ्ख्या २१२ छ ।

उच्च रक्तचापका ७८, मधुमेहका ७२, पायल्सका १८, बाथरोगका १५, थाइराइडका १० जना बिरामी छन् । यस्तै मुटुरोगका छ, मानसिक रोगका पाँच, एचआइभीका तीन, क्षारे र क्षयरोगीका दुई–दुई, कुष्ठरोगी एक जना छन् ।

विषेशज्ञबाट सुझाव दिएका औषधि सहजरूपमा उपलब्ध गराउने व्यवस्था पनि मिलाइएको छ ।

“बिरामी धेरै भए पनि जटिल अवस्थाका कम छन्”, प्रमुख काफ्लेले भन्नुभयो, “बिरामीलाई छुट्टै ब्लकमा राखेका छौँ, नियमित जाँच तथा उपचारको सुविधा दिएका छौँ ।”

पछिल्लो समय जिल्लामा सङ्क्रमितको सङ्ख्यामा वृद्धि हुँदै गएको देखिएपछि भरतपुर कारागार सबैभन्दा बढी जोखिम क्षेत्र बनेको छ । हाल कारागारमा कैदी तथा थुनुवा गरी ६८० जना छन् । रासस