प्रशिक्षण खुला गर्न एन्फाको सरकारसँग माग • Image Khabar Image Khabar


प्रशिक्षण खुला गर्न एन्फाको सरकारसँग माग


रासस
३१ भाद्र २०७७, बुधबार २०:२३

प्रशिक्षण खुला गर्न एन्फाको सरकारसँग माग

काठमाडौं, भदौ ३१ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फुटबल प्रशिक्षण खुला गर्न सरकारसँग माग गरेको छ ।

एन्फाका पदाधिकारीहरुले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाललाई भेटेर खेलाडीहरु निकै मारमा परेकाले उनीहरुलाई प्रशिक्षणको वातावरण तयार गरिदिन अनुरोध गरेका हुन् ।

विस्तारै सबै क्षेत्र खुला गर्दै गएकाले अब खेलाडीको प्रशिक्षण पनि सरकारले खुला गर्नुपर्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताउनुभयो ।

उहाँले खेल क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले प्रशिक्षणको अनुमति दिनुपर्ने उल्लेख गर्नुभयो ।

प्रारम्भमा सरकारले प्रशिक्षणको बाटो खोली दिनुपर्ने अध्यक्ष शेर्पाको माग थियो । खेलाडीलाई अभ्यासमा फर्काउन अब ढिला गर्न नहुने उहाँको भनाइ थियो ।

विश्वका विभिन्न मुलुकमा जस्तै नेपालमा पनि बिनादर्शक प्रतियोगिताहरु सञ्चालन गर्न सकिनेतर्फ एन्फाले सरकारको ध्यानाकर्षण गराएको छ ।

सो अवसरमा राखेप सदस्यसचिव सिलवालले खेलाडीका लागि प्रशिक्षणको वातावरण बनाउन आफूले सक्दो पहल गर्ने आश्वासन दिनुभयो ।

एन्फा प्रवक्ता किरण राईले केही देशले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल प्रतियोगिताका लागि एन्फालाई प्रस्ताव गरेको जानकारी दिनुभयो ।

आगामी नोभम्बर र डिसेम्बर महिनामा मैत्रीपूर्ण खेलका लागि एन्फालाई प्रस्ताव आएको उहाँले बताउनुभयो ।

बंगलादेश, मंगोलियालगायत देशले खेलका लागि प्रस्ताव गरेका छन् । उक्त प्रस्तावबारे एन्फाले छलफल अघि बढाएको प्रवक्ता राईको भनाइ छ ।

सरकारले गत चैत महिनादेखि बन्द प्रशिक्षण अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि भदौ १ गतेदेखि खुला गर्ने निर्णय गरेको थियो ।

काठमाडौं उपत्यकामा कोरोनाभाइरसको संक्रमण ह्वात्तै बढेपछि फुटबलको प्रशिक्षण रोकिएको थियो ।

एन्फाले खेलाडीलाई प्रशिक्षण सुरु गराउन भन्दै खेलाडीलाई ‘क्वारेन्टिन’मा राखेको थियो । सोक्रममा खेलाडीहरुको ‘पीसीआर’ परीक्षणसमेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्