जापानमा सत्तारुढ दलका नेता योसिहिडे सुगा प्रधानमन्त्रीमा निर्वाचित « Image Khabar


जापानमा सत्तारुढ दलका नेता योसिहिडे सुगा प्रधानमन्त्रीमा निर्वाचित


Imagekhabar
३१ भाद्र २०७७, बुधबार १२:११

काठमाडौं । जापानको सत्तारुढ दलका नेता योसिहिडे सुगा प्रधानमन्त्री निर्वाचित हुनुभएको छ ।

गत महिना स्वास्थ्यको कारण देखाउँदै सिन्जो आवेले पदबाट राजिनामा दिएपछि संसदले नयाँ प्रधानमन्त्रीको रुपमा सुगालाई निर्वाचित गरेको हो ।

गत हप्ता आफ्ना दुई प्रतिष्पर्धिलाई पछि पार्दै पार्टीको तर्फबाट उम्मेद्वार बनेसँगै सुगा प्रधानमन्त्री निर्वाचित हुनुभएको जापानका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

४६२ सदस्य रहेको जापानको तल्लो सदनमा भएको निर्वाचनमा सुगाले ३१४ मत प्राप्त गर्नुभएको छ ।

निवर्तमान प्रधानमन्त्रीका विश्वास पात्र रहेका सुगा यसअघि मन्त्रिपरिषदका मुख्य सचिव रहनुभएको थियो ।

नव निर्वाचित प्रधानमन्त्री सुगाले पूर्ववर्ती सरकारले अघि सारेका नीतिलाई निरन्तरता दिने बताइएको छ ।

यसअघि आवेले कायम गरेको आर्थिक वृद्धिदरलाई कायमै राख्नु सुगासामु चुनौती रहेको विपक्षी दलहरुले बताएका छन् ।

कोरोना भाइरसको महामारीका कारण विश्वभर आर्थिक संकट आएरहेको बेला भएको नेतृत्व चयनले आगामी दिनमा जापानले अन्य देशसँग गर्ने व्यवहार र सम्बन्ध बिस्तारमा चुनौती हुने बताइएको छ ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्