Logo २२ आश्विन २०८३, बिहिबार | Thu Oct 8 2026


नेपाललाई अस्ट्रेलियाको थप १५ मिलियन डलर सहयोग घोषणा


0
Shares

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच मेलबर्नमा द्विपक्षीय भेटवार्ता भएको छ। भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्धलाई थप विस्तार गर्ने तथा विपद्, जलवायु, शिक्षा र आर्थिक सहकार्यका विषयमा छलफल भएको छ।

मन्त्री खनालको सचिवालयका अनुसार बिहीबार भएको भेटमा दुवै पक्षले लामो समयदेखि कायम रहेको नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्धप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा सहयोग र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिएका थिए।

भेटका क्रममा विदेशमन्त्री वङले नेपालमा हालै आएको बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति दुःख व्यक्त गर्नुभयो। उहाँले विपद्पछिको उद्धार, प्रारम्भिक पुनर्लाभ तथा पुनर्निर्माणका कार्यमा अस्ट्रेलिया नेपालसँगै रहेको बताउनुभयो।

अस्ट्रेलियाले बाढी तथा अन्य विपद्बाट प्रभावित नेपालका लागि थप १५ मिलियन अस्ट्रेलियन डलर सहयोग घोषणा गरेको छ। यसअघि आपत्कालीन प्रतिकार्यका लागि घोषणा गरिएको ११ मिलियन अस्ट्रेलियन डलर सहयोगमा उक्त रकम थप हुने जनाइएको छ।

नयाँ सहयोग राहत तथा प्रारम्भिक पुनर्लाभका कार्यक्रम सञ्चालनमा केन्द्रित हुने बताइएको छ।

मन्त्री खनालले विपद्का बेला अस्ट्रेलिया सरकार र अस्ट्रेलियाली जनताबाट प्राप्त मानवीय सहयोगप्रति आभार व्यक्त गर्नुभयो। संकटको समयमा प्राप्त सहयोगले नेपाल र अस्ट्रेलियाबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको उहाँले बताउनुभयो।