Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


बाढीपहिरोबाट विस्थापितको स्थायी बसोबासका लागि प्रयत्न गर्ने सभामुखको प्रतिवद्धता


0
Shares

सिन्धुपाल्चोक, भदौ १० । सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितहरुको स्थायी बसोबासका लागि सबै प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

बुधबार लिदी पहिरोबाट विस्थापितभई जुगल गाउँपालिकाको बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका पहिरो पीडितहरुसँगको छलफलमा सभामुख सापकोटाले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले काठमाण्डौमा सोमबार भएको उच्चस्तरीय छलफलमा महाविपत्तिमा परेको सिन्धुपाल्चोकमा नमुना बस्ती बनाउने विषयमा संकल्प गरिएको जानकारी गराउँदै चाँडो जग्गाप्राप्तिको सुरुआत गर्ने र व्यबस्थित एकिकृत संरचना बनाउने काम अभियानकै रुपमा अघि बढाइने बताउनुभयो ।

देशमा ७७ वटा जिल्ला भएपनि सिन्धुपाल्चोकमा महाविपत्तिमा परेकोले यस जिल्लालाई मोडेल बनाउने विषयमा सहमती भएको उहाँको भनाई छ ।

सभामुख सापकोटाले जिल्लाबासीको पीडा, दुःख र कठिनाइका विषय प्रधानन्त्री केपी शर्मा ओलीलाई भेटेर सबिस्तार जानकारी गराउने बताउनुभयो ।

सभामुख सापकोटाले सबैभन्दा पहिले लिदी पहिरोमा परिवार गुमाएका बालबालिकाको व्यबस्थापन गरिने बताउँदै उनीहरुको शिक्षादिक्षाको उचित व्यबस्था गरिने बताउनुभयो ।

उहाँले जुगल गाउँपालिकाका विस्थापितहरुका लागि जुगलको बाँसखर्कमा तथा बाह्रविसे र भोटेकोशीका विस्थापितका लागि बन्देउमा स्थानिय तहका जनप्रतिनिधि र जिल्ला विपद व्यबस्थापन समितिमार्फत राहत सामग्री हस्तान्तरण गर्नुभयो ।

हस्तान्तरण गरिएका सामग्रीहरुमा टेन्ट, सोलार बत्ती, न्यानो कपडा भान्सा र सरसफाइका सामान लगायत रहेका छन् ।

सभामुख सापकोटासँगै राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनील पोखरेल, बैकल्पिक उर्जा प्रवद्धन केन्दका कार्यकारी निर्देशक मधुसुधन अधिकारी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका भूगर्भविद लेखप्रसाद भट्ट लगायत बाँसखर्क जानुभएको थियो ।