सबै बाहरुको सम्झनामा : बा अर्थात् आकाश • Image Khabar Image Khabar


सबै बाहरुको सम्झनामा : बा अर्थात् आकाश


Imagekhabar
३ भाद्र २०७७, बुधबार ०६:२९

सबै बाहरुको सम्झनामा : बा अर्थात् आकाश

-हरिविनोद अधिकारी

महाभारतको वनपर्वमा युधिष्ठिरलाई जब यक्षले पिताको परिचय सोध्छ, युधिष्ठिरले पितालाई आकाशको रुपमा र मातालाई धर्तीको रुपमा परिभाषित गरेका हुन्छन् । आज पनि त्यही परिभाषा विश्वव्यापीरुपमा चलायमान छ, चर्चित छ । पिताका वारेमा सामान्यरुपमा दिएको जस्तो लाग्ने त्यो उत्तर आज आएर पो म बुझिरहेको छु कि आकाश के रहेछ ? वास्तवमा आकाश नै हो रहेछ पिताको परिभाषा । धरती नै हो रहेछ आमाको परिभाषा । बाको अभिभावकत्वको छहारी कति मजबुत र बलियो हुन्छ भन्ने कुरा उहाँको अनुपस्थितिमा मात्र थाहा हुँदोरहेछ ।

अहिले जब बा पनि हुुनुहुन्न र आमा पनि हुुनुहुन्न । लाग्छ पृथ्वी र आकाश नभएको मेरो संसार यस्तैगरी चलिरहेको छ । चल्दोरहेछ । तर म आफैँले भने त्यो छतको , आकाशको उत्तरदायित्व निर्बाह गर्न सकेको जस्तो पटक्कै लाग्दैन किनकि म पनि सन्ततिको पिता, बा, बाबा, पितामह,मातामह भइसकेको छु । लाग्छ, बाजस्तो मेरोलागि अपनत्व शब्द तर कतै फेला पार्न सकेको छुइन । मलाई मात्र हो कि अरुलाई पनि हो, पिताजीका लागि भनिने त्यो बा नै मेरालागि फराकिलो , चौडा र पटाङ्गिनी जस्तै शब्द लाग्छ । हुन त मलाई व्रह्माण्डजस्तै लागेको शब्द बा सिङ्गो वाक्य जस्तै किन लाग्यो त्यो भन्न सक्दिन, त्यसको आधार पनि थाहा छैन मलाई ।

कति राजनीतिका वारेमा लेख्नु, कति अरुको राम्रो नराम्रो भनेर लेख्नु, कति यसो गरे हुन्छ, उसो गरे हुन्छ भनेर अर्ति उपदेश दिएर लेख्नु । यसपटक भने म आफ्नो बाको बारेमा सम्झन्छु है । बा-कति प्यारो , मीठो र भरलाग्दो वाक्य । हुन त व्याकरणले बालाई एउटा अर्थपूर्ण शब्दको रुपमा मात्र मान्ला तर मेरालागि यो एउटा व्रह्माण्ड नै हो र मैले होस समालेदेखि बा भन्ने शब्दलाई एउटा सम्पूर्ण वाक्य, अझ भनौ सम्पूर्ण विश्व अटाउने र अत्यन्तै भरपर्दो छतको रुपमा ग्रहण गरेको हुँ । आज झन त्यो वाक्य यस्तो भएको छ कि अब मैले त्यो बा नाम गरेको विश्वसँग, बा नाम गरेको त्यो व्रह्माण्डसँग सपनामा बाहेक, तस्बिरमा बाहेक र स्मृतिमा बाहेक कहिल्यै साक्षात्कारसमेत गर्न पाउने छुइन । बा हुनुहुन्थ्यो भनेर प्रमाण दिनका लागि म, मेरा भाइहरु र बहिनीहरुलाई नै देखाउनु जरुरी हुन्छ ।अझै मेरी कान्छी फुपू हुनुहुन्छ र उहाँलाई त हामीलाई देख्दा पनि आफ्नो दाजुको तिर्सना मेटिन्छ रे ।

हामी तीन भाइका छोरा सन्तानहरु १३ जना थियौँ तर अहिले माहिलाबाका जेठा छोरा हामी सबैभन्दा ठूला दाजु गणेशप्रसाद अधिकारीको परार निधन भयो अनि मेरो माहिलो भाइ हिमालयको ७ वर्ष अघि एउटा सडक दुर्घटनामा निधन भयो । अहिले बाँकी ११ भाइ छौँ । द्वारिका दाइ, पीताम्बर दाइ,म , भाइ विष्णु, भाइहरु उत्तर, पूर्णचन्द्र, चुडा, विनोद, शम्भु, श्रीवत्स, तारिणी छौँ । हामी ७ भाइ छोराहरुसतिसबैलाई मेरा बाले आफ्ना छोरा नै मान्नुभएको थियो । मेरा बहिनीहरु मुना र जगदम्बा विवाह गरेर गएका भए पनि हामी बाका सन्तानहरुलाई बाको आशीर्वाद पाइरहूँ भन्ने कामना गर्न सकिन्छ ।

सम्भवतः आमा भन्ने सम्पूर्ण वाक्यको थालनी पश्चात नै बा भन्ने व्रह्माण्ड वाक्यको शब्दोच्चारण मैले गरेँ हुँला । यो कुरा आमालाई पनि त्यति याद थिएन मैले पहिले बा भनेँ कि आमा ? तर बाल मनोविज्ञानका आधारमा भन्नचाहिँ सकिन्छ कि मैले आमा पछि बोलेको शब्द पक्कै नै बा नै हुनुपर्दछ तर आडभरोसका लागि भने बाको नै , धाक धक्कु लगाउने र सवैभन्दा ठूलो, बलियो र पैसा भएको मान्छेमा बालाई नै मैले आफ्नो महानायकको रुपमा पहिचान लिएँ जुन प्रभाव अब झन गाढा हुँदै जाँदैछ ।

जब जब म आफ्नो पहिचान र परिचयको गाढा लेपनमा लिप्त हुन्छु, त्यसबेलामा बाको यत्ति धेरै याद आउँछ कि मेरा आँखा सजल हुन्छन् । मेरी १० वर्षकी नातिनी विश्रुता, उसका ८, ६ र ५ वर्षका बहिनीहरु सुदेष्णा, आरुषि, प्रसिद्धिहरुले जब जब बाको तस्बिरनेर गएर बाबाको बालाई प्रणाम भनेर आफ्ना प्रपितामहलाई, प्रमातामहलाई ढोग्नका लागि ती साना साना हात जोडेर निधारमा पुर्‍याउँछन् अनि झन झन मलाई बाको सम्झनाले कोक्क्याउँछ र घाँटीमा एउटा विषादपूर्ण आवाजविहीन आवाजले ख्याप्प पार्छ किनभने उनीहरु बाका पनातिनीहरु हुन् र उहाँको वंशवृक्षको चौथो शाखामा पर्दछन् । कोही उहाँकै काश्यप गोत्री हुन् , कोही आत्रेय गोत्री र कोही शाञ्डिल्य गोत्री हुन् । हुन् त उहाँकै पनातिनीहरु । अझ अर्की अदितिलाई त नेपालमा नहुनाले त्यो अवसर नै पाएकी छैन मेरा बालाई बाबाको बा भनेर प्रणाम गर्न किनभने ऊ अहिले ओस्लोको बार्न हागे( बालकक्षा)मा भर्खर प्रवेश गरेकी छे ।

अनि उनीहरुकै माध्यमले बा यो संसारमा अमर भइरहनु हुनेछ, म पनि र मेरो छोरो पनि र मेरा छोरीहरु पनि । त्यसले सबैभन्दा ठूली नातिनीले बालाई नचिनेर पनि प्रणाम गरिरहँदा र बाबाको बा भनेर सम्बोधन गरिरहँदा मलाई हुने स्वर्गीय अनुभूतिको कुनै सीमा नहुने रहेछ किनभने ती सन्तति तन्तुनै हाम्रो विवाहका अभीष्टता पनि हुन् र जीवनको परिक्रमा भनेको नै फेरि फेरि जन्मनुमा छ । फेरि जन्मनु भनेको पुनरुत्पादन नै हो जो क्रमबद्ध हुँदो रहेछ । मेरा बा धर्मभीरु हुनुहुन्थ्यो , हिन्दु धर्मप्रति कट्टर । उहाँलाई पूर्व जन्म र पुनर्जन्मप्रति अगाध विश्वास थियो । उहाँ यता कतै जन्मनु भएको हुुनुहुन्छ भने या स्वर्गमा कतै हुनुहुन्छ भने पनि हामीलाई आशीर्वाद दिइरहनु भएको होला ।

मलाई लाग्थ्यो, मेरो बालाई कुनै पनि कालले लान सक्दैन अर्थात मेरो बाको निधन मैले सपनामा पनि कल्पना गर्न सक्दैनथेँ । तर बा बेला मौकामा भन्नु हुन्थ्यो रे कि त्यो म मरेपछिमात्र आउनेछ । अलिअलि ज्वरो आउँदा पनि आमालाई कराउँदै भन्नुहुन्थ्यो रे कि त्यसलाई छिटो बोलाइदे । आमाले बुझ्नु भएको थियो कि यो ज्वरो १-२ दिनमा सन्चो भइहाल्छ , किन छोरालाई काठमाडौँदेखि हतार हतार गरी बोलाउनु ? तर बालाई ६१ सालको भदौको ३१ गते राती १२ बजे यसरी अचानक टाउको दुखेछ कि उहाँले आमालाई समेत टाउको दुख्यो मात्र भन्न भ्याउनु भएछ र सदाका लागि हामीलाई छोडेर जानुभएछ । त्यो साल त्यो दिन हरितालिका तीजको थियो । तीजको दर खाने दिन भए पनि तिथिले भाद्र शुक्ल तृतीया भेटेको रहेछ ।

अहिले हामी अनुमान गर्न सक्छौँ कि त्यो कडास्वरुपको मस्तिष्कघात हुनुपर्छ । हामीलाई लाग्थ्यो बालाई केही भएको छैन । छाकमा झन्डै एकमानाको भात,घिउसँग खानै पर्ने उहाँको साँढे सात दशकदेखिको चलन थियो । साहुको पहिलो छोरोको रुपमा उहाँको यस धर्तीमा अवतरण हुँदादेखिको खानपानको सोखले अन्तिम दिनसम्म पनि उस्तै रह्यो । केही दिन अघिमात्र सीतापुरको स्वास्थ्य चौकीमा जानु भएको रहेछ दाँत निकाल्न भनेर । रक्तचाप अहिल धेरै देखेर स्वास्थ्य सहायकले भनेछन–बा , हजुरको उच्च रक्तचाप देखियो, अलि नियन्त्रण भएपछि मात्र दाँत निकालौँला ।

अनि बाले हाँसेर भन्नुभएछ—बाबु, तिम्रो मेसिन बिग्रिएको होला, मेरो मेसिन एकदम ठिक छ । यो कुरा उहाँको निधन पछि मात्र थाहा भयो । कुनै रोग नै थिएन , हर्निया थियो । यो उमेरमा शल्यक्रिया गर्न खतरा हुन्छ भनेर काठमाडौँमा डाक्टर भनेपछि हामीले मान्यौँ । केही त्यस्तो थिएन । उहाँका मधुमेह पनि थिएन किनभने कुनै त्यस्तो सङ्केत थिएन । रक्तचापको पनि ठिकै थियो ,बरु आमा विरामी हुनाले उहाँको हामीले डाक्टरको सेवा बारम्बार लिइरहेका थियौँ ।

कुनै दिनमा बाले ख्यालख्यालमा भनेजस्तै,असोज १ गते दिनको ३बजेतिर म महोत्तरी जिल्लाको अस्थायीरुपमा बस्न भनेर तयार गरिएको तर बस्दै आइएको निवास सीतापुरको घरमा पुग्दा बालाई घाटमा अन्तिम यात्राको परम्पराअनुसारको सत्गत्को व्यवस्था गरेर माहिलो भाइ हिमालय घरमा आइपुगेको रहेछ । त्यो भाइ पनि ६९ सालको घोडेजात्राको दिन सडक दुर्घटनामा हामीलाई यहीँ छोडेर बाको सेवामा गयो । जीवन एउटा अनपेक्षित यात्राको अथाह गन्तव्य र परिणामहीन परिणामको पुञ्ज हो रहेछ । सोचेजस्तो पनि नहुने र सोचेरमात्र पनि नहुने । जे हुने हो भएरै छाड्ने र गणितको शैलीमा सबै आफैँ मिल्ने उत्तर जति । प्रश्न विनाको उत्तर या उत्तर विनाको प्रश्न ।जे सम्झे पनि हुने र नसम्झे पनि हुने ।

बाले गरेको जस्तै भविष्यवाणी पुग्यो-त्यो म मरेपछिमात्र किरिया गर्न आइपुग्छ । नभन्दै त्यस्तै भयो । विसं १९७६ साल हली तिहारका दिन यस पृथ्वीमा आउनु भएको मेरो बा २०६१ सालको हरितालिकाका दिन अर्थात तीजका दिन निर्वाण प्राप्त गर्नुभयो वा महाप्रस्थानमा निस्कनु भयो । पहिले पहिले घरबाट साइत हेरेर निस्कने मेरो बा । बाहिर जाँदाका प्रस्थानमा बा सधैँ फर्कनु हुन्थ्यो तर यसपटकको घरभित्र नै सबैले देख्ने गरी भएको आफू यहीँ बसेर गर्नु भएको महाप्रस्थानमा फेरि कहिल्यै फर्कनु भएन । त्यो महायात्राबाट फर्कनु पनि हुन्न पक्कै । सायद त्यसैले महाप्रस्थान भनिएको पनि होला मृत्युलाई । आजसम्म पनि त्यो पत्याउने गाह्रो छ र सपनामा भेटिँदा त्यही रमाइलो र गर्विलो आवाजले मलाई विहान उठ्दा लाग्छ, बासँग फेरि भेट पक्कै हुन्छ विपनामै । नभए पनि सपनामा । त्यो पनि साइत हेरेर भेट हुने रहेनछ ।

जीविकोपार्जनका लागि गरेको संघर्षका ती दिनहरू र जीवनलाई सहजताका साथ सामान्यीकरण गर्न भोगेका ती संघर्षका गाथाहरूभन्दा बाको मृत्यु धेरै गहु्रँगो हुँदोरहेछ । सवै दुःख दर्द एकातिर र बाको कमी अर्कोतिर । त्यो नै भारी पर्ने रहेछ । भन्ने पर्ने हुन्छ कि कसैलाई पनि बा आमाको मृत्यु भोग्नुपर्ने दिन नआओस् तर फेरि यो पनि ध्रुव सत्य हो कि त्यो दिनचाहिँ भोग्नै पर्दोरहेछ । त्यो जीवित देवताको अनुहार सम्झँदा जहिले पनि गर्वले आँखा भरि आँशु आउँछ र वेदनाले मुटु भक्कानिन्छ ।

गर्व यसकारणले लाग्छ कि म उहाँको छोरो हुँ र मुटु यसकारणले भक्कानिन्छ कि अब यो जुनीमा मैले बालाई कहिल्यै भेट्ने छैन । मलाई देवता वा ईश्वरका वारेमा खासै जानकारी छैन, विश्वास पनि कति गर्ने , थाहा छैन र त्यो दर्शनप्रति मेरो त्यति विश्वास पनि छैन तर बा ईश्वर हो भन्ने कुरामा म विश्वस्त छु कि म उहाँको सृष्टि हुँ जसलाई उहाँले पाल्नुभयो, पोस्नुभयो र दीक्षित गराउनु भयो यो सन्सारसँग मिलेर बस्न सिकाउनु भयो ।

नीतिका कुरा गरेर नैतिकताको पाठ पढाउनु भयो र बारम्बार मलाई भन्नुभएको थियो-हेर छोरा, अठार पुराणको अन्तमा व्यासले भन्नुभएको छ कि अठार पुराणको निष्कर्ष भनेको परोपकार पुण्य हो अनि अर्कालाई पीडा दिनुचाहिँ पाप हो । यही हो तँलाई मेरो उपदेश वा सन्देश । मैले थाहा पाएसम्म एकै समयमा लगातार १८ पुराण लगाएको बाले नै हो , जुन मैले आजसम्मको हाम्रो सामयिक समाजमा देखेको , सुनेको । दीक्षित हुन सोमयज्ञ गरेको सुनेको हुँ तर अठार पुराण लगाएको मैले अन्त थाहा पाएको छैन । उहाँले लगाउनु भयो २०२३ सालदेखि २०२५ सालसम्म सिन्धुलीको ग्वाल्टारमा ।

उहाँ बारम्बार एउटा कल्पिन कहानी सत्यझैँ सुनाउनु हुन्थ्यो देउरालीटारकी कुनै राउतनी आमैको कथा । सधैँ छोरो राउतले आमालाई नेपाल भनेको काठमाडौँ जानलाई पैसा, चामल, घिउ, राडी , चिउरा, गुन्द्रुक र कुराउनी भनेर हैरान गर्दोरहेछ रे । लक्का जबान सेनामा जागिर खान जान लागेको होला । तर आमासँग यो देऊ , जान्छु जागिर खान भनेर हैरान पार्दोरहेछ । एकदिन आमाले छोरालाई चुलेसी लिएर आइज भनेर भनेपछि छोराले चुलेसी ल्यायो । अनि आमाले आफ्नो बुढेसकालको झोलिएको स्तन चोलाबाट बाहिर निकालेर त्यही चुलेसीले काट्न खोजिछन् । अनि छोराले हत्तनपत्त चुलेसी खोसे आमालाई यसो किन गरेको भनेर आत्तिँदै सोधेछ ।

अनि आमाले मार्मिक कुरा भनिछन्—यो क्षत्रिनीको दूध खाएर हुर्केको छोराले जागिर खान जानका लागि के खोजेको घरबाट ? जाने, कर्म गर्ने, जागिर खाने,कमाउने , जहान छोराछोरी पाल्ने । राम्रो काम गर्ने , नाम कमाउने । जा आजैबाट त्यसोभए । म केही पनि दिन्न । अनि ती राउत नेपाल गएर सेनाको ठूलो पदमा पुगेका थिए रे । वास्तवमा यो कथा बाले हामीलाई सुनाउनुको कारण थियो , आफ्नो बाटो आफैँले तय गर्ने । कर्मयोगी हुने भन्ने आशय थियो ।

बाको ८५ वर्षको जीवनमा मैले पनि ५१ वर्ष उहाँको प्रत्यक्ष छहारीमा बिताएँ । २०११ साल वैशाख २५ गते जन्मेको ममा । एउटा मनोविज्ञान पनि होला त्यो , मैले कुनै पनि समय आफूलाई असुरक्षित सम्झिन उहाँको जीवनभर । अहिले लाग्छ, म बाविना कतै सुरक्षित छुइन कि ? मैले यो आभास आफ्ना सन्ततिलाई गराउन सकेको छैन, यो मेरो स्वघोषणा हो किनभने उहाँकै छतमा हामी सवैले सुरक्षा महसुस गरिरहेका थियौँ । उहाँकै इच्छाबमोजिम म १३ वर्षको उमेर देखि घर छोडेर बाहिर पढ्न हिँडेँ । उहाँको चाहना संस्कृत पढोस् र पण्डित बनोस् भन्ने थियो, मैले त्यो पूरा गर्न सकिन तर अहिले आएर लागेको छ, मैले त्यसबेलामा संस्कृत पढेको भए अहिले मलाई ग्लानि हुने थिएन संस्कृत नजानेकोमा । म अहिले महाभारतकालीन शिक्षाको आजको शिक्षामा परेको प्रभावसँग सामाजिक न्यायको वारेमा अनुसन्धान गर्न थालेको छु र संस्कृतको अल्पज्ञानले मलाई अत्यास लागिरहेको छ ।

त्यसपछि उहाँकै चाहनाअनुसार आफ्नै खुट्टामा टेक्ने काम गर्न थाल्दा उहाँसँग सामान्यतया वर्षका एकपल्ट वा दुईपल्टमात्र भेट हुन्थ्यो । बाको गुनासो हुन्थ्यो, अरु त विदामा आउँछन्, तँ पनि आउने गर्नु । म हुन्छ भन्थेँ र खोइ केले केले हो, जानै चाँजो पर्दैनथ्यो । २०६१ सालको जेठमा काठमाडौँ आउनु भयो र यस सालको दसैँ काठमाडौँमा नै मनाउने गरी असारमा जानु भएको थियो । म यसकारणले पुलकित भएको थिएँ कि बालाई यसपटक त काठमाडौँमा नै दसैँ मनाउन मनाएँ । एकपटक सीतापुर पुगेर आउने वाचा त बाले नै गर्नु भएको थियो । म दसैँमा बा आउने गरी दिन गन्न थालेको थिएँ जस्तो कि पहिले पहिले बा नै म घर आउने दिन गनेर बस्नुहुन्थ्यो घटस्थापनाका दिनदेखि । केटाकेटी घर पुग्थे र त्यसको २ वा ३ दिनपछि म पुग्थेँ जनकपुरतिर अलमलिएर, साथीभाइ भेटेर ।

वास्तवमा मेरो पुख्र्यौली अहिलेको काभे्रपलान्चोक जिल्लाको दाप्चामा रहेछ तर मभन्दा ४ पुस्ता पहिले नै अहिलेको सिन्धुलीको हैबार, देउरालीटार हुँदै ग्वाल्टारमा बसाइ हुँदै आएको रहेछ । त्यसैले मेरो बा र मेरो जन्म ग्वाल्टारमा नै भयो , र अहिले पनि ग्वाल्टारमा हाम्रो स्थायी बसोबास छ ।
सधैँ एकनास कहाँ पो हुँदो रहेछ र ? २०६१ साल भदौको ३१ गते राती दर खाएर सुतेका मात्र थियौँ सवै परिवारका सदस्यहरू, करिब २ बजेतिर फोन आयो, बा टाउको दुखेर बेहोस हुनुभएको छ भनेर सीतापुरबाट नचिनेको कुनै केटाको आवाजमा । मैले अनुमान गरेँ र बिस्तारै सवैलाई उठाएर भनेँ कि बा त बिरामी हुनुभएको छ र बेहोससमेत हुनुहुन्छ रे । सवै फोन गर्न थाले र घरमा दर खान आउन नभ्याएको भाइले पनि फोन गरेर त्रासदीपूर्ण तर सम्भावित धु्रवसत्यलाई अनुमान गर्‍यो ।

हामीले सीतापुरमा बासँगै रहेको भाइ हिमालयलाई बालाई जसरी पनि काठमाडौँ लिएर आउन भन्दा उसले अब औषधि गर्नतिर लाग्नुभन्दा तपाईँहरू नै बालाई भेट्न छिटो आउनु भन्दा मैले त्यतिबेरचाहिँ आकाश खसेजस्तै ठानेँ । सायद त्यसैले होला, युधिष्ठिरले बालाई आकाश मानेको जस्तो लाग्यो । तर आशा बाँकी थियो अझै हुनुहुन्छ कि भन्ने । एकछिनपछि भाइले करिब करिब सङ्केत ग¥यो कि अब बा हुनुहुन्न । त्यो समयको म अहिले पनि कल्पना गर्न सक्दिन, कस्तो भयो मेरो मनमा । वास्तवमा जीवनमा बाको महत्व मैले त्यतिबेर अनुभूत गरेँ ।

अहिले त्यही भाइ पनि सडक दुर्घटनामा पर्‍यो र ६९साल चैत्र २८ गते हामीलाई यतै छोडेर सदाका लागि त्यस्तो ठाउँमा गयो जहाँ बा पहिले नै पुगिसक्नु भएको छ । भनौँ बाको सेवाका लागि ऊ नै मभन्दा पहिले गयो । नियमले त बा आमा पछि मेरो पालो हो र पनि उसले मलाई र आमालाई नै यतै छोडेर गयो । सायद त्यसैको पिरले पनि हुनुपर्छ , आमा पनि उसको बरखीको केही दिनमा नै २०७० सालको चैत्र २४ गते चैते अष्टमीका दिन हामीलाई छोडेर जानु भयो । बाको कमीको क्षतिपूर्ति खासै नहुने भए पनि आमाको त झन कसरी खप्ने ? अनि बा पनि नहुने र आमा पनि नहुने भएपछि यो संसार साँच्चै नै अकल्पनीय संत्रासयुक्त नै लाग्दोरहेछ ।

यो कुनै गुनासो गर्न वा बिलौना गर्नका लागि कथेको कथा होइन । मात्र बा भन्ने ईश्वरको अवतारको निर्वाणप्राप्तिको एउटा सम्झना मात्र हो । अर्थात मेरो बा रामप्रसाद उपाध्याय अधिकारीको मोक्षको एउटा सम्झनामात्र हो । न कुनै दम्भ, न कुनै विषाद, न कुनै आकाङ्क्षा , न कुनै छलछाम । ८५ वर्षको आयुसम्मको आफ्नो लामो जीवन यात्रामा ।

आफ्नो सिन्धुली र रामेछाप अर्थात पुरानो पूर्व २ नम्बर क्षेत्रमा शिक्षा र सामाजिक कामका लागि दानवीरका रुपमा प्रख्यात बाले २००८ र २०१५ सालमा नै कमला हाइस्कुल चलाउन उसैबेलामा रु १-१ हजार पटक पटक दिनु भएको रहेछ । उहाँको दृष्टिकोण कस्तो थियो भने दाहिने हातले दिएको देब्रे हातले थाहा पाउनु हुँदैन । ग्वाल्टार, तीनमाने, बतासे, राम्चे, किराँते, फलामे, बाँझे, तीनपाटनमा विद्यालय खोल्दा लाग्ने खर्चसमेत बेहोर्ने मेरा बाले हामीलाई कहिल्यै पनि ती कुरामा घमण्ड नगर्न सम्झाइरहनु भयो । म नियतिले विद्यालय शिक्षक हुनु, नेपाल शिक्षक संघको संस्थापकमध्ये एक हुन पाउनु र शिक्षक शिक्षाका लागिमात्र खोलिएको काठमाडौँ शिक्षा क्याम्पसको संस्थापकसमेत हुनुमा उहाँको त्यही शिक्षाप्रतिको पुरानो लगावले नै मनोवैज्ञानिक काम गर्‍यो कि भन्ने पनि लाग्छ ।

आज बाको महाप्रस्थानको १६ वर्ष हुँदा , यो बेलामा आइपुग्दा र आफैँलाई समयसँग फर्केर हेर्दा लाग्छ-के साँच्चै मेरो बा यस दुनियाँमा हुनुहुन्न त ? सत्य त त्यही हो, हुनुहुन्न । तर लाग्छ कतै मलाई बोलाइ रहनु भए जस्तो यसो उभिएर र दाहिने हातको चोरी औँलो यसो उठाएर, मन्द मन्द हाँस्दै यसो भन्दै रहनु भएको त होइन ?

परोपकार पुण्याय पापाय परपीडनम् । यो हेक्का राखेस् । तँ म नै हुँ र म नै तँमा सरेको हुँ । म कतै गएको छुइन र पनि तैँले मलाई देख्न सक्दैनस् , म तँलाई देखिरहेको छु । तँ आफ्नो कर्तव्यबाट कतै च्यूत नहुनू । बारम्बार जीवन आउनु र बारम्बार जानु एउटा नियति हो तर मोक्षको लागि गरिने सद्प्रयासचाहिँ अनवरत गरिरहनू ।

संसारमा विना बा कोही पनि यो संसारमा आएको छैन र आउने पनि सायद छैन । अनि अमर पनि कोही छैन र सबै मरिने कुराबाट जति डराए पनि मरिन्छ भनेर कोही पनि सोच्दैन । भोलि त मर्नु छ भनेर अर्काको अहित गर्न पनि कसैले छोडेको छैन । तर पनि बाको छहारी नभएको जीवनले सिर्जनशीलतालाई अगाडि बढाउन सक्छ र भन्ने प्रश्न त सधैँ ताजा नै रहनेछ । त्यसैले आजको दिनमा ती साँच्चै नै ईश्वरका अवतारलाई सम्झनु नै कृतज्ञ सन्ततिको कर्तव्य हुनजान्छ ।

सायद त्यसैले पूर्वीय दर्शनमा बालाई सम्झने दिनको पनि व्यवस्था गरेको होला । म पनि मेरा बा र मेरा बा जस्तै जजसका बा हुनुहुन्न , सबैका बाहरुप्रति नतमस्तक हुँदै कृतज्ञता जाहेर गर्छु र उहाँहरुको सम्झनामा शब्द सुमनाञ्जलि चढाउँछु । आफ्ना बा आमालाई भगवानको अवतार सम्झनुस् सधैँ पूजा गर्नुस् । जब उहाँहरुको छाया यो संसारबाट हराउने छ, अनि मात्र सम्झनामात्र हुनेछ मनमा । मस्तिष्कमा ।

प्रतिक्रिया दिनुहोस्