२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकारी ढिलासुस्तीले मुग्लिङ-नारायणगढ सडक जीर्ण: पहिरो खस्ने र भासिनेक्रम रोकिएन (भिडियो)


0
Shares

-डोलराज रानाभाट/ईमेज

चितवन । सडक डिभिजन कार्यालय भरतपुरको ढिलासुस्तीले मुग्लिन सडकखण्डको अवस्था नाजुक बन्दै गएको छ ।

ठूला भारसहितका दैनिक दशौं हजार सवारी साधन चौबीसैं घण्टा गुड्ने व्यस्त सडकको वैकल्पिक मार्ग छैन ।

माथि पहाड र तल त्रिशुली नदी हुँदा पहिरो खसेर थुनिएपछि जहाँको त्यही रोकिनुपर्ने बाध्यता छ ।

यस सडक खण्डमा ठूलो पानी प¥योकी पहिरो खसेर सडक अवरुद्ध हुने पुरानै रोगले यात्रुहरु हैरान हुने गरेका छन् ।

पहिरो खस्ने र ठाउँठाउँमा मुख्य सडक नै भासिएका कारण विभिन्न ठाउँमा त एकतर्फी मात्र सवारी संचालन हुने गरेको छ ।

त्यस्तै सुख्खा पहिरो पनि खस्ने र ढुँगा खसेर मानिसको मृत्यु हुँदा समेत प्रभावकारी रोकथाम अझै भएको छैन ।

पहिरोको कारण कयौ पटक एम्वुलेन्स समेत रोकिनु पर्दा बिरामी र सुत्केरीकोसमेत बेहाल हुने गरेको छ ।

यस वर्षपनि जलविरे, कालिखोला, १७ किलो, ४ किलोलगायतका ठाउँमा ठूला ठूला पहिरो खस्यो भने अन्य दर्जनौं साना पहिरोले पनि सडक अवरुद्ध बनायो ।

पटक पटक पहिरो खस्ने र सडक भासिदा पनि दिर्घकालिन मर्मत नगर्ने र ठेकेदारले कमीसन खाएर झारा टार्ने काम गर्दा समस्या झनै बढेको देखिन्छ ।

नारायणगढ–मुग्लिङ सडकखण्डको भरपतुर २९ र इच्छाकामना गाउँपालिकाको क्षेत्रमा वढि पहिरो खस्ने गरेको छ ।

भरतपुर २९ का वडाअध्यक्ष मनवहादुर मगरले पनि सडक डिभिजनको झारा टार्ने कामका कारण वर्षेनी समस्या भएको बताउनुहुन्छ ।

जतिवेला पहिरो खस्छ त्यतिवेला मात्रै हटाउने अन्य समय कानमा तेल हालेर वस्ने गर्दा पहिराले दुख दिएको बताउनुहुन्छ ।

सडक डिभिजन भरतपुरले भने ब्यस्त रहने यस सडकखण्डको नौ ठाउँमा पहिरो रोक्नका लागि तार, रडलगायतका सामग्री प्रयोग गरेको डिभिजन प्रमुख कृष्णराज अधिकारीले बताउनुभयो ।

डिभिजनको क्षमताले भ्याएसम्मका कार्य गरेको बताउनुभयो । आवाज सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, चारकिलो, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भएको छ ।

अहिले सडकखण्डमा नयाँ पुल निर्माणका लागि पनि माटो परीक्षणको काम भइरहेको देखिन्छ तर, त्यसले मूर्त रुप लिन सकेको छैन् ।

भिडियो